गाजा युद्धका १९ दिनः अहिलेसम्म के भयो, के देखिन्छ अबको परिदृष्य
मध्यपूर्वको तनाव उत्कर्षमा छ। प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध सुरु भएको १९ दिन पुगेको छ। त्यहाँ ७ अक्टोबरदेखि संघर्ष जारी छ।
गाजा क्षेत्रमा स्थिति निराशाजनक छ। स्थिति यति निराशाजनक छ कि खान यूनिसमा शरण लिएको एक परिवारले आफ्ना बच्चाको हातमा एक ब्रासलेट लगाइदिएको छ ताकि ती मारिए भने चिन्न सकियोस्।
बीबीसीका मिडल इस्ट संवाददाताका अनुसार अलीद डाबाले आफ्नो बच्चालाई बैंगनी र कालो रंगको ब्रासलेट लगाइदिएकी छन्। केहीगरी इजरायली हमलामा परेर बच्चाको ज्यान गएको खण्डमा चिन्न सजिलो होस् भनेर त्यसो गरेको उनको भनाइ छ। पछिल्लो साता सोसल मिडियामा एउटा भिडियो आएको थियो जसमा बाबुआमा बच्चाको नाम उनीहरुको हातमा लेखिरहेका थिए।
साथै अर्को एउटा मुटु नै ढक्क फुल्ने तस्बिर सार्वजनिक भएको थियो जसमा अस्पतालको शव गृहमा राखिएको बच्चाको शवको ट्राउजर माथि सारेर उनको नाम लेखिएको थियो।
सात अक्टोबरदेखि इजरायलले गाजामाथि लगातार हवाई हमला गरिरहेको छ। गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन्।
अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासि आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दावी इजरायली सेना तथा स्वास्थ्य अधिकारी गरेका छन्।
हमासले सात अक्टोबरमा इजरायलमाथि गरेको हमलामा १४ सयको ज्यान गएको थियो। यसमध्ये १० जना नेपाली पनि छन्। इजरायल र हमासबीच संघर्ष सुरु भएसँगै अन्य कैयौं मोर्चाबन्दीको आशंका गरिएको छ। मंगलबारमात्रै सिरियामा इजरायलको हवाई हमलामा परी आठ सैनिक मारिएका छन्।
लेबनानसँग जोडिएको सीमामा इजरायल र हिजबुल्लाबीच अहिले पनि गोलाबारी चलिरहेको छ। टर्कीले स्पष्ट रुपमा हमासको पक्ष लिएको छ। कतारले गाजामा बमबारी रोक्न इजरायलसँग अपिल गरेको छ।
यो युद्ध सुरू भएयता इजरायलले गरेको यस किसिमको पहिलो कारबाही होइन। यसअघि अक्टोबर १३ मा पनि इजरायली ट्यांकहरू गाजा पट्टीमा प्रवेश गरेका थिए।
यसबीच संयुक्त राष्ट्रसंघले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ।
राष्ट्रसंघका अनुसार गाजामा इजरायली हवाई हमलाहरू बढिरहेका छन्। अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजरायलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसँग केही विकल्प बाँकी नरहेको राष्ट्रसंघले जनाएको छ।
‘गाजा कतै पनि सुरक्षित छैन,’ प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका मानवीय संयोजक लिन हेडसनले भने।