महानवमीमा मात्र खुल्ने तलेजु भवानीको मन्दिर, यस्तो छ इतिहास

मूलखबर संवाददाता
काठमाडौं

आज बडादशैं अन्तर्गत महानवमी। वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि खुलेको छ । हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरुकाे बिहानैदेखि भिड लागेको छ ।

 तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरिन्छ । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइन्छ ।

प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन् । हनुमनढोका हेरचाह अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गरेका छन् ।

के छ तलेजुको इतिहास

मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।

सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती छ ।

वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ । राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भए पनि पछि विसं १६२० मा महिन्द्र मल्लले अहिलेको यो मन्दिर बनाएका हुन् ।

यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछि मात्र खाना खाने गरेको किम्वदन्ती छ ।

यो मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ । काठमाडौँ उपत्यकाका तीन शहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ ।