बेइजिङमा उपचाररत उपप्रधानमन्त्री श्रेष्ठ आइसियुबाट जनरल वार्डमा

मूलखबर संवाददाता
काठमाडौं, ३ कात्तिक

‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आइसियुबाट जनरल वार्डको क्याबिनमा सर्नुभएको छ।

चिकित्सकको सल्लाहअनुसार उहाँले आज सामान्य हिड्डुल समेत गर्नुभएको छ।

सार्वजनिक सुरक्षा तथा आपतकालीनमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङ र चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय बिभागका एक नेता अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गर्नुभएको छ।

वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ अवस्थाक्क जानकारी लिनु भएको थियो त्यसक्रममा उहाँले पेकिंङ अस्पतालमा सबै प्रकारको अत्याधुनिक उपचार हुने र उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा कुनै कमि नगर्न अस्पताललाई निर्देशन दिइएको समेत जानकारी दिनुभयो। बेइजिङ बाहिर रहनुभएका वाङ बेइजिङ एयरपोर्टबाट सिधै अस्पताल पुग्नुभएको थियो।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पनि फुलको गुच्चा पठाउदै प्रतिनिधिमार्फत श्रेष्ठको सुस्वास्थको कामना गर्नुभएको छ।
‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको अस्पतालले जनाएको थियो। उहाँको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको थियो।