एसिसी प्रिमियर कप : साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा, अर्जुनको शतक

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । अर्जुन कुमालको शतक र दिपेश कंडेलको घातक बलिङको मद्दतमा नेपालले एसीसी उन्नाइस वर्ष मुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दूल्लाह शिराजले ९ रन बनाए । साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेलेका थिए । १४२ रन बनाएका उनी म्यान अफ दि म्याच भए ।

आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए ।

त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई–दुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एक–एक विकेट लिए ।

नेपालले पहिलो खेलमा इरानलाई २७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो ।

नेपालले अब सेमिफाइनलमा समूह ‘डी’को विजेतासँग खेल्ने छ ।