त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

मूलखबर संवाददाता
काठमाडौं

 

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको विजय लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

हिजो भएको पहिलो खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो ।

हङकङविरुद्धको खेलमा नेपालका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३४ बलमा ६ छक्कासहित ४२ रनको योगदान दिएका हुन् । कप्तान रोहितकुमार पौडेलले अविजित २५ रन बनाए भने गुल्सन झाले अविजित १४ रन जोडे । कुशल भुर्तेल ८ रनमा आउट भए ।

हङकङका लागि एहशान खानले तीन विकेट लिए भने यासिम मुर्ताजाले एक विकेट झारे ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो । हङकङका लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ बनाए । जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङलाई ९४ रनमा समेट्नेक्रममा नेपालका करण केसीले चार विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीले समान दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्ल र श्याम ढकाल (मौसम) ले समान एक–एक विकेट लिए ।