हृदयाघात भएपछि अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । चीनमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उनी उपचाररत अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।

‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण सङ्केत देखिएको छ’, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ गएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गए राति हृदयघात भएको थियो ।

छातीमा दुखाइ भएपछि उनलाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । अस्पताल पुगेलगतै कोरोनी एन्जियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बायाँ धमनीमा रक्तसञ्चारमा अवरोध भएको देखिएपछि ‘स्टेन्ट’ राखेर खुलाइएको अस्पतालले जनाएको छ ।

चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ दोहोरो संवाद गर्न सक्ने अवस्थामा छन् ।