हमासमाथि दबाब बढाउँदै अमेरिका, प्रमुख कमाण्डरविरुद्ध प्रतिबन्ध
इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ।
हमासले गत अक्टोबर ७ मा इजरायलमा एक्कासी आक्रमण गर्दा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।
इजरायलले युद्धको घोषणा गरेपछि र जवाफी हमला सुरु गरेपछि गाजामा करिब तीन हजार मानिसको मृत्यु भएको हमासका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने क्रममा उक्त प्रतिबन्ध लगाइएको हो। येलेनले भने, ‘अमेरिकी अर्थमन्त्रालयले आतंकवादको वित्तपोषणलाई प्रभावकारी रूपमा अवरोध गरेको लामो इतिहास छ र हामी हमासविरुद्ध हाम्रा उपकरणहरू प्रयोग गर्न हिचकिचाउने छैनौं।’
उनले हमासले ‘ज्यादती’ गर्नका लागि आर्थिक सहयोग जुटाउने क्षमताबाट बञ्चित गर्न वासिङ्टनले आवश्यक सबै कदम चाल्ने बताएका छन्। अमेरिकाले यसअघि पनि हमासलाई आतंकवादी सङ्गठन घोषणा गरिसकेको छ।
अहिलेसम्म इरानी शासन र हमास र हिजबुल्लाहलगायतका समूहद्वारा आतङ्कवाद र आतङ्कवादी वित्तपोषणसँग सम्बन्धित करिब एक हजार व्यक्ति र संस्थाहरूलाई निशाना बनाइएको ट्रेजरीले जनाएको छ।