आगामी चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : प्रभाकर

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आगामी चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बुधवार नेकपा माओवादी केन्द्र काठमाडौं महानगर कमिटी वडा नं. १६ ले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले आगामी चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।

गठबन्धनको सरकारले गति नदिने भएकाले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनको भनाइ छ । सहमतिको सरकार बनाउन सकेमा ठूलो परियोजनाका काम गर्न सकिने, जनअपेक्षा सम्बोधन गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने बताउँदै उनले भने, ‘नत्र भाग लाउँदा लाउँदै सरकारको पनि गति नआउने । प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने । एकले अर्कालाई दमन गर्ने कुरा भएको छ । यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने । राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने ।’

उनले रोजगारी सृष्टि गर्नेमा सबभन्दा अघि को बन्ने भन्ने र भ्रष्टाचारका विरुद्धमा को अब्बल हुने भन्ने प्रतिस्पर्धा हुनुपर्ने बताए ।

उनले थपे, ‘उत्पादन वृद्धिमा को अगाडि बढ्ने भन्ने प्रतिस्पर्धा । गुणस्तरीय काम कसले गर्ने, जनतालाई सेवा प्रवाह कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गरेर सरकार सञ्चालन गरेर जानसक्यौँ भने हाम्रो देश समृद्ध हुन्छ । सहमति नगरी हुँदैन । सहमति गरेर मात्रै ठुलो ठुलो परियोजना बनाउन सक्छौँ । त्यसो गरे देशलाई समृद्ध गर्न सक्छौँ र जनताको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सक्छौँ ।’