पहिले आफैं रुपान्तरण हुने अभियानमा छौं : उपाध्यक्ष भुसाल
ललितपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले पहिला आफू रुपान्तरण हुने र पार्टीलाई रुपान्तरण गर्ने यात्रामा लागेको बताएकी छन् । समाजको अगुवामा समयसापेक्ष रूपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रुपान्तरण आवश्यक रहेको उनको जोड छ ।
नेकपा माओवादी केन्द्र ललितपुर महानगर कमिटीले विजया दशमी, नेपाल संवत्, शुभ दीपावली तथा छठ पर्वका अवसरमा बुधबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो धारणा राखेकी हुन् । ‘समाजलाई साथमा लिएर अगुवाइ गर्दै परिवर्तनको काम गर्नुपर्ने आवश्यकता छ, हामीले प्राप्त उपलब्धि, सामना गरेका चुनौतीहरूलाई आत्मसान गर्दै रुपान्तरणका लागि सुझाव ल्याउनुपर्ने छ, यसका लागि जनताबाट अलग भएर रुपान्तरणका काम गर्न सकिँदैन,’ उनले भनिन्, ‘पार्टीको रुपान्तरणका लागि हामीले अभियानलाई परिमार्जन गरेर जानुपर्ने हुन्छ, हामी पहिला आफू रुपान्तरण हुने र अनि पार्टीलाई रुपान्तरण गर्ने यात्रामा लागेका छौं ।’ जनताबाट अलग भएर रुपान्तरणका काम गर्न नसकिने उनले बताइन् ।
उपाध्यक्ष भुसालले नियमित रूपमा समितिका बैठक बसेर समस्याको पहिचान गर्दै इतिहासको विरासतलाई वर्तमानसँग जोडेर भविष्यको निर्माण गर्ने गरी नयाँ पार्टी निर्माण गर्न निरन्तरता र गुणात्मकता कायम गर्ने गरी रुपान्तरणको अभियानमा लाग्न आग्रह गरिन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि दाहाल, केन्द्रीय सदस्य राजकाजी महर्जन, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले तीनमहिने रुपान्तरण अभियानले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
जनताले माग गरेको रुपान्तरणलाई सम्बोधन गर्न पार्टीलाई पनि रुपान्तरण गरेर जानु आवश्यक रहेको भन्दै उनीहरुले चाडपर्वले भेटघाटको वातावरण बनाउने हुँदा पार्टी पुनर्निर्माणका लागि पुराना व्यक्तिहरूलाई ऊर्जाशील बनाउन लाग्नुपर्ने र तत्कालीन जनमुक्ति सेनाका पूर्वलडाकुलाई पनि पार्टीमा क्रियाशील बनाइनुपर्ने धारणा राखेका थिए ।