गाजा कारवाही रोक्न दबाब, अमेरिकी राष्ट्रपतिले गरे इजरायल भ्रमणको घोषणा

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । इजरायलमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनले बुधबार बाइडेन इजरायल आइपुग्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति बाइडेनको भ्रमण र अन्य विषयमा छलफल गर्न जेरुसेलममा रहेको अमेरिकी दूतावासमा सोमबार एन्टोनी ब्लिन्केनल सहितका शीर्ष अमेरिकी कूटनीतिज्ञ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सात घण्टा लामो बैठक भएको थियो ।

बाइडेनको इजरायल भ्रमणमा प्यालेस्टाइनको लडाकु समूह हमाससँगको युद्ध कसरी अघि बढाउने र नागरिकको जीवन रक्षाका विषयमा छलफल हुने ब्लिन्केनले बताएका छन् । यस्तै, नागरिकको हताहतलाई कसरी कम गर्ने र गाजामा राहत तथा उद्धारका कामको बारेमा पनि ठोस निर्णय हुने सम्भावना रहेको खबरमा उल्लेख छ ।

नेतान्याहुको निमन्त्रणामा बाइडेनको भ्रमण भएको हो । इजरायलमा यसपटक हमासले गरको आक्रमणपछि दुवै पक्षबाट अहिलेसम्म ४ हजार भन्दा धेरैको ज्यान गएको छ । १२ सय जना बेपत्ता छन् ।

हमासको जवाफी कारबाही भन्दै इजरायलले गाजामा गरेको अन्धाधुन्ध आक्रमणले सहर कंक्रिटमा परिणत भएको छ । उपचार, खाना, पानी, बासस्थान र बिजुलीको चरम अभावमा मानिस निकै कष्टकर अवस्थामा पुगेका छन् ।

गाजामा स्थल कारबाहीका लागि आवश्यक पूर्व तयारीहरू सुरु भइसकेका छन्।

मेजर जनरल आमोस गिलीअड इजरेली डिफेन्स फोर्सेजका अवकाशप्राप्त वरिष्ठ अधिकारी हुन र उनले विगतमा गाजामा सैन्य कारबाहीबारे विज्ञता हासिल गरेका छन्। उनका अनुसार इजरेलले सबैभन्दा पहिला गर्नुपर्ने काम भनेको अब हुने घटनाक्रममा नागरिकको समर्थन प्राप्त गर्नसक्ने एकताको सरकार बनाउनु हो।

हालै भएका अमेरिकी र युरोपेली नेताहरूका उच्चस्तरीय कूटनीतिक भ्रमणहरूले इजरेललाई अन्तर्राष्ट्रिय समर्थन वृद्धि गर्न सघाएको छ। तर यो ऐक्यबद्धता युद्ध लम्बिँदा र गैर सैनिक नोक्सानी बढ्दै जाँदा कमजोर पनि हुनसक्छ।

सैनिक कारबाहीका क्रममा इजरेली सेनाले भोग्नसक्ने उल्लेख्य क्षतिले पनि उसको सामर्थ्यको परीक्षण गर्नेछ।

इजरेलले गाजाको सीमा नजिकै आफ्ना फौजहरूलाई तैनाथ गरिसकेको छ। आपत्कालीन अवस्थामा फौजमा तत्कालै भर्ना गर्न सकिने सैनिक तालिम पाएका करिब तीन लाख जगेडा फौजहरूलाई क्रियाशील गराइएको छ भने १ लाख ६० हजार भन्दा बढी नियमित सैनिकहरूलाई तम्तयार अवस्थामा राखिएको छ।

इजरेलको पहिलो काम आफ्नो भूमिको सुरक्षा गर्नु र सीमा पार गरेर आफ्नो मुलुकभित्र प्रवेश गरी १,३०० जनाभन्दा बढीको हत्या गर्ने र कम्तीमा डेढ सय जनालाई बन्धक बनाउने हमास विद्रोहीहरूको हत्या गर्ने, वा उनीहरूलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने रहेको थियो।

इजरेलले हमासको सैनिक नेतृत्व र पूर्वाधारहरूलाई निशाना बनाउँदै अहिले नै व्यापक हवाई आक्रमणहरू गरिसकेको छ।

पछिल्लो पटक छ दिनमा उसको वायु सेनाले गाजामा ६,०००भन्दा बढी बम खसालेको छ। तुलना नै गर्ने हो भने सन् २०११ मा लिबिया युद्धमा नेटोका फौजहरूले पुरै लडाइँ अवधिभर ७ हजार ७०० बम खसालेका थिए।

अहिलेसम्म गाजामा गरिएका हवाई आक्रमणमा १५ सय भन्दा बढीको ज्यान गएको छ।