राजनीतिक हस्तीहरू जसले चलाउँछन् प्यालेस्टाइनको हमास समूह
हमासका लडाकुले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेका थिए । हमासले आक्रमणलाई नाम दिएको थियो– अपरेसन अल अक्सा फ्लड’ । यो आक्रमणपछि प्रश्न उठिरहेको छ– आक्रमण योजना क–कसले बनायो ?
पर्यवेक्षक तथा विश्लेषकका अनुसार हमासको पछिल्लो आक्रमणले इजरायललाई आश्चर्यमा पारेको छ । यसको अनुमान इजरायलले गर्न सकेको थिएन ।
प्यालेस्टाइनको चरमपन्थी समूह हमासको गाजामा नियन्त्रण छ । हमासका वरिष्ठ नेताहरु मिडियामा अनुहार छोपेर प्रस्तुत हुन्छन् । यसको एउटै उद्देश्य छ– दुश्मनले आफूलाई नचिनुन् । उनीहरुको अधिकांश जीवन इजरायलबाट हुन सक्ने हत्याबाट आफूलाई जोगाउनमै बित्छ ।
हमासका वर्तमान प्रमुख नेता, राजनीतिक हस्ती र उसको इज्जी–अल–दिन अल–कसाम बिग्रेडका सैन्य कमाण्डर कस्ता कस्ता छन् त ?
मोहम्मद डीफ
मोहम्मद डीफ ती व्यक्ती हुन् जसले सुरङ बनाउने योजना बनाएका थिए । यिनै सुरङबाट हमासका लडाकु इजरायलको भूमिमा प्रवेश गरेका थिए । उनको असली नाम मोहम्मद डफ अल–मसरी हो । उनलाई बोलाउने नाम हो अल डीफ ।
उनी हमासको सैन्य संगठन इज्जी–अल–दिन अल–कसाम बिग्रेडका प्रमुख हुन् । उनको जन्म सन् १९६५ मा गाजामा भएको थियो । प्यालेस्टिनीहरु उनलाई ‘मास्टरमाइन्ड’को रुपमा चिन्छन् । इजरायलीहरु भने उनलाई ‘द म्यान अफ डेथ’ र ‘द फाइटर विथ नाइन लाइभ्स’ को नाम दिएका छन् ।
मोहम्मद डीफले इस्लामिक विश्वविद्यालय अफ गाजाबाट जीव विज्ञानमा स्नातक गरेका छन् । विश्वविद्यालयमा उनले थिएटरमा अभिनय पनि गरेका थिए । उनले थिएटरको लागि कलाकारको एउटा समूह बनाएका थिए ।
जब हमासको स्थापना भयो तब उनी बिना कुनै हिच्किचाहट यसमा सामेल भएका थिए । इजरायली अधिकारीले उनलाई सन् १९८९ मा पक्राउ गरेका थिए । हमासको सैन्य शाखामा काम गरेको आरोपमा उनलाई मुद्दा नै नचलाई १६ महिना जेलमा राखिएको थियो ।
जेलमा रहेका बेला डीफले इजरायली सैनिकलाई पक्राउ गर्ने उद्देश्यले हमासभन्दा अलग एक आन्दोलन स्थापित गर्न जकारिया अल–शोरबागी र सलाह शेहादेहसँग मिलेका थिए । यो नै पछि अल–कसाम बिग्रेड बनेको थियो ।
जेलबाट रिहा भएलगत्तै डीफ इज्जी–अल–दिन अल–कसाम बिग्रेडको प्रमुख नेताको रुपमा स्थापित भए । उनी यसको संस्थापकमध्ये एक थिए । डीफ ती सुरुङको निर्माण गर्ने इन्जिनियर थिए, जुन सुरुङबाट हमासका लडाकुहरु गाजाबाट इजरायल प्रवेश गरेका थिए ।
डीफ रकेट बनाउने र इजरायलमा प्रहार गर्ने रणनीतिलाई बढावा दिनेमध्येमा पनि पर्छन् । उनीमाथि सबैभन्दा गम्भीर आरोप भनेको हमासको लागि बम बनाउने याह्या आयाशको हत्याको बदला लिने योजना बनाएको भन्ने छ ।
यस बदलाको दौरान एक बसमा भएको बम आक्रमणमा करिब ५० इजरायली मारिएका थिए । यो घटना सन् १९९६ को सुरुमा भएको थियो । यसको अलवा उनको नाम सन् १९९० को दशकमा तीन जना इजरायली सेनाको अपहरण गरी हत्या गरेको सम्बन्धमा पनि जोडिएको थियो । इजरायलमा सन् २००० मा उनलाई पक्राउ गरी जेलमा राखिएको थियो । तर उनी जेलबाट भाग्न सफल भए ।
डीफको तीन वटा तस्बिर सार्वजनिक भएका छन्– एउटा धेरै पुरानो, दोस्रो नकाब लगाएको र तेस्रो उनको छाया । उनको हत्या गर्ने सबैभन्दा ठूलो प्रयास सन् २००२ मा भएको थियो । तर उनी चामत्कारिक रुपमा बचेको अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचारमा उल्लेख छ ।
यस आक्रमणमा उनको एउटा आँखा फुट्यो । इजरायलको दाबी भने उनले एउटा हात र एउटा गोडासमेत गुमाएको भन्ने छ । इजरायली आक्रमणमा परेपछि उनलाई बोल्नमा पनि समस्या हुने गरेको छ ।
सन् २०१४ मा गाजामा करिब ५० दिनसम्म गरेको आक्रमणमा इजरायली सेना उनको हत्या गर्न विफल भएको थियो । तर इजरायली सेनाले उनका श्रीमती र दुई जना बच्चाको भने हत्या गरेको थियो ।
‘द क्लाउन’ नामक नाटकमा उलने अबू खालिदको भूमिका निभाएको कारण उनलाई अबू खालिदको नामले समेत बोलाउने गरिन्थ्यो ।
डीफ शब्दको प्रयोग अरबीमा अतिथिको लागि हुनेगर्छ । यो नामले उनलाई यसकारण पनि दिइएको थियो कि उनी कुनै पनि स्थानमा लामो समय बस्दैनथे । इजरायली आक्रमणबाट बच्न उनी हरेक रात अलग अलग स्थानमा बिताउँथे ।
मारवाना इस्सा
इजरायलले मारवाना इस्सलाई कर्म गर्ने व्यक्तिको रुपमा चित्रण गर्दै आएको छ । इजरायलले भन्दै आएको छ– उनी यति चतुर छन् कि प्लास्टिकलाई धातुमा बदल्न सक्छन् । मारवाना इस्सा मोहम्मद डिफको दाहिने हातको रुपमा पनि चिनिन्छन् ।
उनी इज्जी–अल–दिन अल–कसाम बिग्रेडका डेपुटी कमाण्डर इन चिफ र हमास आन्दोलनको राजनीतिक तथा सैन्य ब्यूरोका सदस्य हुन् । इजरायली सेनाले उनलाई एकपटक पक्राउ गरेको थियो । हमासमा सक्रिय रहेको कारण उनलाई इजरायलले ५ वर्ष हिरासतमा राखेको थियो । उनी हमासमा आफ्नो जवानीको दिनदेखि नै जोडिएका थिए ।
इजरायलले एक पटक भनेको थियो– जबसम्म उनी जीवित रहन्छन्, हमाससँग उनको दिमागी युद्ध चलिनै रहन्छ । इस्सा सुरुमा बास्केटबल खेलाडीका रुपमा चिनिन्थे । खेल उनको करियर भने बनेन किनभने इजरायलले सन् १९८७ मा उनलाई हमासमा संलग्न भएको आरोपमा पक्राउ ग¥यो ।
प्यालेस्टिनी प्राधिकरणले उनलाई १९९७ मा फक्राउ गरेको थियो । उनलाई २००० मा अल–अक्सामा इजरायल र प्यालेस्टिनबीच संघर्ष सुरु भएपछि छोडिएको थियो । जेलबाट रिहा भएपछि उनले इज्जी–अल–दिन अल–कसाम बिग्रेडको सैन्य प्रणाली विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
हमासको महत्वपूर्ण भूमिकामा रहेका कारण इजरायलले उनको नाम मस्ट वान्टेड सूचीमा राखेको छ ।
सन् २००६ मा डीफ र इज्जी–अल–दिन अल–कसाम बिग्रेडकाका प्रमुख नेताहरुको एक बैठक चलिरहेका बेला इजरायलले उनको हत्या गर्ने प्रयास गरेको थियो । यो आक्रमणमा उनी घाइते भएका थए । उनलाई मार्ने इजरायली सपना भने पूरा भएन ।
इजरायलले सन् २०१४ मा गाजामा हवाई आक्रमण गर्दा उनको घर ध्वस्त पारिदिएको थियो । उक्त घटनामा उनको एक जना भाई मारिएका थिए ।
सन् २०११ सम्म उनको अनुहार धेरैले देखेका थिएनन् । उक्त वर्ष एउटा ग्रुप फोटो सार्वजनिक भएको थियो । फोटो इजरायली सैनिक ग्लेड शालितको बदलामा रिहा गरिएका प्यालेस्टिनी कैदीलाई गरिएको स्वागत समारोहको थियो । उक्त फोटोमा उनी देखिएका थिए ।
मारवाना इस्सा अबू अल–बारका नामले पनि चिनिन्छन् । उनको नाम इजरायलमा विभिन्न माध्यमबाट प्रवेश गर्ने योजना बनाउनेमा आउने गरेको छ । सन् २०१२ को ‘शेल स्टोन्स’ र सन् २०२३ को ‘अल–अक्सा फ्लड’ जस्ता अभियानमा उनको नाम जोडएको छ ।
याह्या सिनवार
अमेरिकाले स्न २०१५ सेप्टेम्बरमा याह्या सिनवारको नाम अन्तर्राष्ट्रिय चरमपन्थीको कालो सूचीमा राखेको थियो । सिनवार हमासका नेता हुन् । उनी गाजा पट्टीमा हमासको राजनीतिक ब्यूरोका प्रमुख हुन् ।
सन् १९६२ मा जन्मिएका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक हुन् । मज्दले गाजामा आन्तरिक सुरक्षा हेर्ने काम गर्छ । यसले शंकास्पद इजरायली एजेन्टको जाँच पनि गर्छ । इजरायली गुप्तचर अधिकारमाथि निगरानी राख्ने यसको अर्को कार्य हो ।
सिनवार तीनपटक पक्राउ परिसकेका छन् । इजरायली सेनाले उनलाई पहिलो पटक सन् १९८२ मा पक्राउ गरेको थियो । उनलाई त्यतिबेला चार महिना जेल राखिएको थियो । सन् १९८८ मा सिनवार तेस्रो पटक पक्राउ परेका थिए ।
त्यसपछि उनलाई जन्मकैदको सजाय सुनाइएको थियो । उनी जेल सजाय काटिरहेका बेला हमासले हानेको एक मिसाइल इजरायली सैनिक ग्लेड शालितको ट्याङ्कमा क्षति पुर्याएको थियो । हमासले शालितलाई बन्दी बनाएका थिए । त्यसपछि शालतको रिहाईको बदलामा इजरायलले हमासका थुप्रै कैदी रिहा गरेको थियो । यसमा एक जना थिए याह्या सिनवार ।
इजरायलको कैदबाट रिहा भएपछि सिनवार हमासमा पुरानै जिम्मेवारीमा फर्केका थिए । सन् २०१७ फेव्रुअरी १३ मा गाजा पट्टीमा हमासको राजनीतिक ब्युरोको प्रमुखमा उनी नियुक्त भएका थिए । उनले इस्माइल हानियको ठाउँ लिएका थिए ।
अब्दुल्ला बरघौटी
अब्दुल्ला बरघौटी इन्जिनियर हुन् । उनले डेटोनेटर बनाउनुको अलवा आलुबाट बिस्फोटक पदार्थ तथा विषाक्त पदार्थ बनाएका छन् । बरघौटीको जन्म सन् १९७२ मा कुवेतमा भएको थियो । उनी सन् १९९० को दोस्रो खाडी युद्धपछि जोर्डनमा बस्न थालेका थिए ।
दक्षिण कोरियाको एक विश्वविद्यालयमा तीन वर्षे इलेक्ट्रिोनिक इन्जिनियरिङको पढाई गर्नुअघिसम्म उनीसँग जोर्डनको नागरिकता थियो । विश्वविद्यालयमा उनले विस्फोटक पदार्थ बनाउन सिकेका थिए । उनले आफ्नो पढाई पुरा गर्न सकेनन् किनकि त्यसअघि उनले प्यालेस्टिन प्रवेश गर्ने अनुमति पाएका थिए ।
उनको नजिक रहेकालाई समेत उनलाई बिस्फोटक पदार्थ बनाउन आउँछ भन्ने थाहा पाएका थिएनन् । एक दिन उनले आफ्नो भाई बिलाललाई वेस्ट बैंकको दुर्गम क्षेत्रमा लगे र त्यहाँ उनले आफ्नो कौशलता प्रदर्शन गरे ।
बिलालले आफूले देखेको कुरा आफ्नो कमाण्डरलाई सुनाए । त्यसपछि बरघौटीले इज्जी–अल–दिन अल–कसाम बिग्रेडबाट निमन्त्रणा पाए । बरघौटीले आफ्नो एक गोदाममा सैन्य उत्पादनको लागि एक विशेष कारखाना बनाएका थिए ।
सन् २००३ मा इजरायली सेनाले बरघौटीलाई पक्राउ गरेको थियो । उनीमाथि तीन महिनासम्म सोधपुछ चल्यो । बरघौटीमाथि दर्जनौं इजरायली सेनाको हत्या गरेको आरोप छ । उनलाई इजरायलको इतिहासमा सबैभन्दा लामो सजाय सुनाइएको थियो ।
उनलाई ६७ वर्ष आजीवन कारावास र ५२ वर्ष जेल सजाय सुनाइएको थियो । उनलाई केही समयको लागि एकान्तवासमा समेत राखिएको थियो । यसको विरोधमा उनले भोक हड्ताल गरेका थिए । त्यसपछि उनको एकान्त कारावास सजाय रद्द गरिएको थियो ।
बरघौटी ‘प्रिन्स अफ स्याडो’ नामले पनि चिनिन्छन् । उनले जेलमा बस्दा यही शिर्षकको किताब लेखेका थिए । त्यसपछि उनले उक्त उपनाम पाएका थिए । किताममा उनले आफ्नो जीवन र अन्य कैदीसँग गरिएको व्यवहारबारे उल्लेख गरेका छन् ।
इस्माइल हानिया
इस्माइल हानिया हमासको राजनीतिक ब्यूरो प्रमुख तथा प्यालेस्टिनी सरकारको प्रधानमन्त्री हुन् । उनको उपनाम अबू–अल–अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो । उनी सन् २००६ देखि प्यालेस्टिनी प्रधानमन्त्रीको रुपमा काम गर्दै आएका छन् ।
इजरायलले सन् १९८९ देखि उनलाई तीन वर्ष जेलमा राखेको थियो । त्यसपछि उनलाई हमासका केही नेतासँगै मार्ज–अल–जुहुरमा निर्वासनमा पठाइएको थियो । यो इजरायल र लेबनानबीचको नो–म्यान्स ल्यान्ड हो । त्यहाँ उनी एक वर्ष बसेको थिए ।
निर्वासन अवधि सकिएपछि उनी गाजामा गएका थिए । उनलाई सन् १९९७ मा हमास आन्दोलनमा आध्यात्मिक नेता शेख अहमद यासीनको कार्यालयको प्रमुख नियुक्त गरिएको थियो । यहींबाट उनको उचाई बढेको थियो ।
हमासले सन् २००६ फेव्रुअरी १६ मा उनको नाम प्यालेस्टिनको प्रधानमन्त्रीमा सिफारिस गरेको थियो । सोही वर्षको फेव्रुअरी २० मा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
तर एक वर्षपछि नै प्यालेस्टिन नेसनल अथोरिटीका प्रमुख महमूद अब्बासले उनलाई पदबाट बर्खास्त गरेका थिए । इज्जी–अल–दिन अल–कसाम बिग्रेडले गाजा पट्टी कब्जा गरेपछि उनलाई बर्खास्त गरिएको थियो ।
हानियाले आफ्नो बर्खास्तगीलाई असंवैधानिक बताउँदै अस्वीकार गरे । उनले आफ्नो सरकार आफ्नो कर्तव्यबाट टाढा नहुने र प्यालेस्टिन जनताप्रतिको जिम्मेवारी पुरा गर्न नछोड्ने दाबी समेत गरेका थिए ।
हानियालाई सन् २०१७ मे ६ मा हमासको राजनीतिक ब्युरो प्रमुख नियुक्त गरिएको थियो । अमेरिकाको विदेश विभागले सन् २०१८ मा हानियालाई आतंकवादी घोषणा गरेको थियो ।
खालिद मशाल
खालिद मशाल हमास आन्दोलनको संस्थापकमध्ये एक हुन् । हमासको स्थापनादेखि नै उनी राजनीतिक ब्युरोको सदस्य छन् । मशाल ‘अबू अल–वालिद’का जन्म सन् १९५६ मा वेस्ट बैंकको सिलवाडा गाउँमा भएको थियो ।
उनले प्राथमिक शिक्षा वेस्ट बैंकमा लिएका थिए । त्यसपछि उनको परिवार कुवेत गएको थियो, जहाँ उनले माध्यमिक शिक्षा पुरा गरेका थिए । मशाल सन् १९९६ देखि २०१७ को बीचमा हमासको राजनीतिक ब्युरोको अध्यक्ष समेत रहेका थिए । सन् २००४ मा शेख अहमद यासीनको मृत्युपछि मशाललाई यसको नेता नियुक्त गरिएको थियो ।
इजरायलको गप्तचर संस्था मोसादले सन् १९९७ मा उनलाई निशाना बनाएको थियो । इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको निर्देशनमा उनको हत्याको प्रयास भएको थियो । नेतन्याहूले मोसादको प्रमुखलाई मशालको हत्याको योजना बनाउन निर्देशन दिएका थिए ।
मोसादले दश जना एजेन्टलाई क्यानडाको नक्कली पासपोर्टमा पहिला जोर्डन पठाएका थिए । त्यतिबेला खालिद मशालसँग जोर्डनको नागरिकता थियो । राजधानी अम्मानको एक सडकमा हिँडिरहेको बेला उनलाई एक विषालु पदार्थले भरिएकोको इन्जेक्सन दिइएको थियो ।
जोर्डनका अधिकारीले मशालको हत्याको प्रयास भएको पक्ता लगाए । जोर्डनले यस घटनामा संलग्न मोसादको दुई एजेन्टलाई पक्राउ गर्यो । त्यतिबेला जोर्डनका राजा हुसेनले इजरायली प्रधानमन्त्रीसँग मशाललाई दिइएको विषालु पदार्थको एन्टीजोड मागेका थिए । नेतन्याहूले सुरुमा यो अनुरोधलाई अस्वीकार गरेका थिए ।
मशालको हत्याको प्रयासले एक राजनीतिक विवादको रुप लियो । यसमा अमेरिकी तत्कालिन राष्ट्रपति बिल क्लिन्टनले हस्तक्षेप गरे । उनले नेतन्याहूलाई एन्टीडोज दिनको लागि बाध्य बनाए । मशालले पहिलो पटक सन् २०१२ डिसेम्बर ७ मा गाजा पट्टीको भ्रमण गरेका थिए । उनी ११ वर्ष हुँदा प्यालेस्टिन छोडेका थिए । त्यसपछि यो नै उनको पहिलो प्यालेस्टिन यात्रा थियो ।
राफा क्रसिङमा प्यालेस्टिन नेताले उनको स्वागत गरेका थिए । गाजा सहरमा पुग्दा सडकको दुवैतिर उनको स्वागतमा सर्वसाधरण उभिएका थिए ।
महमूद जहार
हमास आन्दोलन स्थापना भएको ६ महिनापछि नै महमूद जहारलाई इजरायलले पक्राउ गरेको थियो । जहारको जन्म सन् १९४५ मा गाजामा भएको थियो । उनको पिता प्यालेस्टिन र आमा इजिप्टकी थिइन् ।
उनको बाल्यकाल इजिप्टको इस्माइलिया सहरमा बितेको थियो । उनले माध्यमिक तहको शिक्षा गाजामा लिएका थिए । जहारले सन् १९७१ मा काहिरा के ऐन शम्स विश्वविद्यालयबाट जनरल मेडिसिनमा स्नातक गरेका थिए ।
यसपछि सन् १९७६ मा उनले जनरल सर्जरीमा पीजी गरेका थिए । स्नातकको पढाई सकेपछि उनले गाजाको अस्पतालमा डाक्टरको रुपमा काम गरेका थिए । उनले गाजामा त्यतिबेलासम्म काम गरे जबसम्म इजरायलले उनलाई राजनीतिक गतिविधिका कारण बर्खास्त गरेन ।
जहार हमासको प्रमुख नेतामध्ये एक मानिन्छन् । उनी हमास आन्दोलनको राजनीतिक नेतृत्व गर्ने एक सदस्य पनि हुन् । हमासको स्थापना भएको ६ महिना पछि सन् १९८८ मा महमूद जहारलाई इजरायलको जेलमा ६ महिना राखिएको थियो ।
इजरायलले उनलाई सन् १९९२ मा अन्य नेतासँगै मार्ज–अल–जुहुर निर्वासनमा पठाएको थियो । त्यहाँ उनी एक वर्ष बसेका थिए ।
सन् २००५ मा गरिएको चुनावमा हमासले बहुमत पाएको थियो । जहारले प्रधानमन्त्री इस्माइल हानियको सरकारमा विदेश मन्त्रीको रुपमा काम गरेका थिए । त्यसपछि राष्ट्रपति महमूद अब्बासले सरकार बर्खास्त गरेका थिए, जसले प्यालेस्टिनबीच विभाजन ल्याएको थियो ।
इजरायलले सन् २००३ मा जहारको हत्या गर्ने प्रयास गरेको थियो । एक एफ–१६ विमानले गाजा सहर नजिक रिमलमा रहेको जहारको घरमा बम खसालेको थियो । भनिन्छ उक्त बम पाँच क्विन्टलको थियो । यो आक्रमणमा उनलाई सामान्य चोट लाग्यो । तर उनको ठूलो छोरा खालिद भने मारिए ।
उनको अर्को छोरा होसाम स्न २००८ जनवरी १५ मा गाजाको पूर्वी क्षत्रमा इजरायली सेनाको आक्रमणमा मारिएका थिए । जहारले केही बौद्धिक, राजनीतिक र साहित्यिक रचना पनि गरेका छन् । यसमा ‘द प्रोब्लम अफ आवर कन्टेम्परेरी सोसाइटी…ए कुरानिक स्टडी’, ‘नो प्लेस अन्डर द सन’ पर्छन् ।
बीबीसीबाट