माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारलाई जनताको अपार समर्थन : महासचिव गुरुङ

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको अपार समर्थन पाएको बताएका छन् ।

जनप्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाडपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले भ्रष्टाचार विरोधी अभियानमा जनताले साथ दिएका कारण सरकारप्रति विश्वास बढेको बताए ।

जनतामा आशा र विश्वासको सन्चार अभूतपूर्व रुपमा बढेको भन्दै उनले वर्तमान सरकारलाई कुनै पनि हालतमा टिकाउनुपर्ने बताए ।

संसदमा संख्याको हिसाबले माओवादी केन्द्र तेस्रो दल भए पनि ठूला दलहरूलाई मिलाउँदै मुलुककै नेतृत्व गर्ने अभिभावकीय जिम्मेवारी पूरा गरिरहेको भन्दै महासचिव गुरुङले भने, ‘सरकारले भ्रष्टाचार विरोधी अभियान सुरु गर्दा प्राप्त जनसमर्थनले टिकेको छ । अहिले माओवादीप्रति जनविश्वास बढेर गएको छ र नेपालदेखि विदेशसम्म पार्टी प्रवेशको लहर चलिरहेको छ ।’ यो जनलहरले राष्ट्रियताको रक्षा गर्ने र नेपालको जनताको समाजवादी गणतन्त्र स्थापना गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

यतिबेला माओवादीले देशको नेतृत्व नगरेको भए विदेशी सेनाले देशमा परेड खेल्ने स्थिति आउनसक्ने आशंका उनले गरे । ‘यतिखेर माओवादीले यो भूमिका नखेलेको हुँदो हो त यतिखेर नेपालमा बिदेशी सेनाले परेड खेल्ने ठाउँ बन्थ्यो’, उनले भने, ‘नेपाल विगतको अफगानिस्तान जस्तो द्वन्द्वग्रस्त क्षेत्र बन्थ्यो । माओवादीले पहल नगरेको भए नेपाल यतिबेला युक्रेन बनिसक्थ्यो । यो अवस्थाबाट बचाएर ल्याउने काम माओवादी केन्द्रको नेतृत्वले गरिरहेको छ ।’