केपी ओली जनकपुर पुग्दा विमानस्थलमा जात्रा

मूलखबर संवाददाता
काठमाडौं

बुधबार जनकपुर पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्ने नाममा कार्यकर्ताले प्रतिबन्धित गतिविधि गरेका छन्। ओलीलाई स्वागत गर्ने क्रममा कार्यकर्ता जनकपुर विमानस्थलको प्रतिबन्धित क्षेत्रमै पुगेका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त घटनाको अनुसन्धान सुरु गरेको छ।

बोर्डिङ पास भएका व्यक्ति र कर्मचारीले मात्र प्रवेश पाउने धावनमार्गमा एमाले कार्यकर्ता पुगेका हुन्। जहाजको ढोकैसम्म कार्यकर्ता पुगेर ओलीको स्वागत गरेको तस्बिर बाहिरिएपछि सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ।

प्रतिबन्धित स्थानमा कार्यकर्ता पुग्नु हवाई सुरक्षाकै चुनौती भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। भुलले क्यानले घटनाको अनुसन्धानका सुरु गरेको पनि जानकारी दिए।

‘उहाँहरू जहाज पार्किङमै प्रवेश गर्नुभएको छ। यो अति संवेदनशील कुरा हो। यसमा कसको गल्ती हो भन्ने विषयलाई लिएर अनुसन्धान सुरु भएको छ। हामीले रिपोर्ट मगाइसकेका छौं’, सूचना अधिकारी भुलले मूलखबरलाई भने।

उक्त क्षेत्रमा सुरक्षा जाँचपछि बोर्डिङ पास लिएका यात्रु र आधिकारिक कर्मचारी मात्र प्रवेश गर्न पाउने मापदण्ड रहेको उनले जानकारी दिए। विमानस्थलमा एयर साइड र ल्यान्ड साइड गरी दुई क्षेत्र हुन्छन्। एयर साइडमा सेक्युरिटी चेकपछि पास लिएर जान सक्ने प्रावधान रहेको भुलले बताए। उनका अनुसार यो क्षेत्रमा विमानस्थल सुरक्षा समितिको अनुमति बिना प्रवेश गर्न पाइँदैन।