युद्ध लम्बिने संकेतः हमासले रोकेन आक्रमण,गाजामा इजरायलको भयानक प्रत्याक्रमण
प्यालेन्सटिनी अतिवादी समूह हमास र इजरायली सेनाबीचको जारी युद्ध लामो समय चल्ने संकेत देखिएको छ। केही समय आक्रामकता रोकेको हमासले इजरायली शहरहरुमा फेरि आक्रमण सुरु गरेको छ । गाजापट्टीको सीमावर्ती शहर अक्षलोनमा ठूला विष्फोटहरु भएकोअन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
मंगलबार हमासले स्थानीय समय अनुसार ५ बजेसमम् स्थानीयलाई शहर छोडन चेतावनी दिएको थियो । त्यो समय सकिएलगत्तै हमासले रकेट आक्रमण सुरु गरेको थयो। शहरमा थुप्रै विष्फोटहरु सुनिएको बीबीसीले जनाएको छ । यता इजरायलले पनि गाजामा आक्रमण जारी नै राखेको छ ।
शनिबारदेखिको इजरायली हवाई हमलामा मारिएका प्यालेस्टिनीको संख्या ९ सय नाघेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेको संख्या ४५ सय भन्दा बढी रहेको जनाएको छ ।
हमासले गरेको आक्रमणमा इजरायली पक्षमा मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । इजरायली सेनाका अनुसार अहिलेसम्म १००८ जनाको मृत्यु भएको छ । ३ हजार भन्दा धेरै घाइते भएका छन् ।
मारिने विदेशीमा नेपाली र थाइल्याण्डका बढी
शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् ।
इजरायलमा ज्यान गुमाउने विदेशीमा अहिलेसम्मको तथ्यांकानुसार सबैभन्दा बढी थाई नागरिक छन् । थाइल्यान्डको विदेश मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने आफ्ना नागरिकको संख्या १८ पुगेको बताएका छन् । अरू केही थाई नागरिक सम्पर्कविहीन छन् ।
यस्तै, इजरायलमा १० नेपाली नागरिकको मृत्यु भएको छ । केही नेपाली घाइते छन् ।
यो द्वन्द्वमा नौ अमेरिकी नागरिकको मृत्यु भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।
त्यहाँ क्यानडाका एकको मृत्यु र दुई बेपत्ता, बेलायतका १० भन्दा बढी नागरिकको मृत्यु एवं बेपत्ता र फ्रान्सका एकको मृत्यु र केही बेपत्ता छन् ।
चीन र जर्मनीका ज्यान गुमाउने एवं सम्पर्कविहीन नागरिकको संख्या पुष्टि भएको छैन ।
पाराग्वे र युक्रेनका दुईजनाको मृत्यु भएको छ । रुस र कम्बोडियाका एक/एकजनाको मृत्यु भएको बताइएको छ ।
मेक्सिकोका दुईजना अपहरणमा परेका, तान्जानियाका दुई र आयरल्यान्डका एकजना घाइते रहेका जेरुसेलम पोस्टले जनाएको छ ।