राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । इजरायलमा हमास चरमपन्थी समूहले आक्रमण गरेपछि उत्पन्न परिस्थितिका कारण संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल भ्रमण स्थगित गरेका छन् ।

इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । निकट भविष्यमै उनले नेपाल भ्रमण गर्ने लम्सालले बताइन् ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदलाई सम्बोधन गर्ने तय भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन न्युयोर्क गएको बेला गुटरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।