प्रतिशोधी भावः गाजामा खाना, विद्युत र इन्धन पूर्ण रोक लगाउने इजरायलको घोषणा

मूलखबर संवाददाता
काठमाडौं

इजरायलले प्यालेस्टाइनी अतिवादी समूह हमासको नियन्त्रणमा रहेको गाजालाई पूर्णरूपमा घेराबन्दी गर्न निर्देशन दिएको छ । सोमबार इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले गाजातर्फ बिजुली, खाद्यान्न र इन्धनको आपूर्ति रोक्नसमेत आदेश दिएका छन् ।

इजरायलले गाजा नजिक रहेका आफ्ना नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ । तर, विद्रोहीहरू अझै पनि सक्रिय रहेकाले इजरायलले धेरै ठाउँमा आफ्नै भूमिमा हमासविरुद्ध लडिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासको आक्रमणमा इजरायलमा अहिलेसम्म ८ सय भन्दा बढीको मृत्यु भैसकेको छ भने इजरायली सेनाले गरेको जवाफ कारवाहीमा प्यालेष्टाइनमा ७ सयले ज्यान गुमाएका छन्। दुवैतर्फ सयौंको संख्यामा मानिस घाइते छन्। केहीको अवस्था अज्ञात छ।

गाजा स्ट्रिप के हो?
गाजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ भएको इजरेल, इजिप्ट र भूमध्यसागरबीचको भूभाग हो।

त्यहाँ २३ लाख व्यक्तिको बसोबास छ।

विश्वका धेरै जनघनत्व भएका ठाउँमध्ये गाजा स्ट्रिप पनि एक हो।

इजरेलले गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमा नियन्त्रण गर्छ र आफूसँग जोडिएको सीमानाका भएर को आउजाउ गर्न पाउँछ अनि के सामान ओसारपसार गर्न दिने हो भन्ने कुरा इजरेलको नियन्त्रणमा छ।

त्यसै गरी इजिप्टले पनि आफूसँग जोडिएको नाका भएर को आउजाउ गर्न पाउँछ भन्ने कुराको नियन्त्रण गर्छ।

इजरेल र हमासबीच किन लडाइँ भएको हो?
हमास र इजरेलबीच निरन्तर तनाव रहिआएको छ।

तर हमासले शनिवार बिना कुनै चेतावनी इजरेलभित्र आक्रमण गर्‍यो।

हमासले इजरेलमाथि हजारौँ रकेट प्रहार गर्‍यो भने उसका लडाकुहरूले सीमामा लगाइएको तारबार हटाए अनि इजरेली समुदायमाथि अतिक्रमण गरे, सयौँलाई मारिदिए र कैयौँलाई बन्धक बनाएर लगे।

गाजामा लडाकुहरूको अखडालाई लक्ष्य बनाएर इजरेलले तत्कालै हवाई हमलाहरू शुरू गर्‍यो।

यो हमला कति अभूतपूर्व हो?
हाम्रा अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवन लेख्छन् – हमासले गाजाबाट सुरु गरेको यो सबैभन्दा महत्त्वाकाङ्क्षी कारबाही हो र इजरेलले एक पुस्ताको भन्दा बढी समयभित्र झेलेको यो सबैभन्दा गम्भीर सीमापार हमला हो।

लडाकुहरूले गाजा र इजरेललाई छुट्ट्याउने तारबारहरू धेरै ठाउँमा काटिदिए।

मध्यपूर्वमा ठूलो युद्ध निम्त्याउने गरी इजिप्ट र सिरियाले सन् १९७३ मा अचानक आक्रमण गरेको ५० वर्ष पुगेको एक दिनपछि यो अभूतपूर्व आक्रमण भएको हो।

हमासको नेतृत्वका लागि अहिलेसम्म त्यसको सान्दर्भिकता सकिएको छैन।

इजरेली गुप्तचरको विफलता
इजरेलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयासबीच कसैले यस्तो हुन्छ भन्ने आकलन गर्न नसक्नु अनौठो हो। यदि आकलन गरिएको भए पनि ती निकाय उपयुक्त कदम चाल्न विफल भए।

इजरेलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न गुप्तचर निकाय मानिन्छ।

प्यालेस्टाइनको लडाकु समूहसहित उसका गुप्तचर र सुराकीहरू लेबनन, सिरिया र अन्यत्र छन्।