इजरायल घटनाले प्रधानमन्त्री प्रचण्ड मर्माहत, नेपालीलाई स्वदेश फर्काउन हवाई चार्टरको व्यवस्था
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा होनहार नेपाली युवाहरुको मृत्यु भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । उक्त घटनालाई अकल्पनीय भन्दै प्रधानमन्त्री प्रचण्डले जीवन गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
आज सामाजिक सन्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘इजरायलमाथि हमासले गरेको आक्रमणमा परी हाम्रा होनहार युवाहरूको निधन भएको घटनाले मलाई अत्यन्तै मर्माहत बनाएको छ । उक्त अकल्पनीय घटनाबाट जीवन गुमाउनुभएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’
आज बसेको मन्त्रिपरिषदको विशेष बैठकले घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति शोक व्यक्त गर्न असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको र इजरायल सरकारसँग समन्वय गरी निधन हुनुभएकाहरूको शव नेपाल ल्याउने, राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैया उपलब्ध गराउने, वेपत्ताको खोजी र घाइतेको उपचारको समन्वय गर्दै नेपाली नागरिकलाई स्वदेश फर्काउन हवाई चार्टरको व्यवस्था गर्ने लगायतका निर्णय गरेको जानकारी पनि प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।
यो दुःखद र कठिन घडीमा धैर्यतापूर्वक सम्हालिएर अघि बढन सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा प्रधानमन्त्री प्रचण्डले अपिलसमेत गरेका छन् ।