७ सय इजरायली मारिएको पुष्टि, म्युजिक फेष्टिभल स्थलमा भेटिए साढे २ सय शव
इजरायलमा हमास समूहले गरेको शनिबारको आक्रमणबाट मृत्यु हुनेको संख्या ७०० नाघेको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन्। सुपरनोभा म्युजिक फेष्टिभल भैरहेको स्थानमा मात्र साढे २ सय जनाको शब भेटिएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
त्यस्तै इजरायली सेनाले गरेको कारवाहीमा गाजापट्टीमा साढे ४ सयभन्दा बढी मानिस मारिएका छन्। इजरायली सेनाले गाजासँग सीमा क्षेत्रमा पर्ने सबै सहर खाली गराइरहेको छ।
दक्षिणी इजरेलका विभिन्न क्षेत्रमा तेस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ र त्यहाँ चार सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरेली सेनाले जनाएको छ। गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरेलले गरेको हवाई हमलामा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन्।
हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ। इजरेलले उक्त आक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ।
कति इजरेलीहरूलाई हमास लडाकुहरूले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट भएको छैन। संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आइतवार आपत्कालीन बैठक बस्दै छ। त्यसमा उक्त सङ्कटबारे छलफल हुनेछ।
अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सबै खाले उपयुक्त माध्यमबाट सहयोग गर्ने प्रस्ताव गरेका छन्।
अहिलेसम्म के-के भयो?
स्थानीय सञ्चारमाध्यमका अनुसार इजरेली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरेलका कैयौँ भागहरूमा लडाइँ जारी छ।
इजरेयली सेनालाई उद्धृत गर्दै आएका समाचारहरू अनुसार उसले देशको दक्षिणी भागका धेरैजसो क्षेत्रहरू हमासको कब्जाबाट फिर्ता ल्याउन सफल भएको छ र गाजाको सीमा नजिक लडाइँ जारी छ।
ब्रिटेनस्थित इजरेली दूतावासले एकजना ब्रिटिश नागरिक बेपत्ता भएको पुष्टि गरेको छ। उनी गाजाको सीमा नजिकै नृत्य महोत्सवमा सुरक्षाकर्मीका रूपमा काम गरिरहेका थिए र त्यसै बेला त्यहाँ आक्रमण भएको थियो।
दक्षिणी इजरेल र गाजा क्षेत्रमा ४०० भन्दा बढी प्यालेस्टिनी लडाकुहरू मारिएका र दर्जनौँलाई नियन्त्रणमा लिइएको आईडीएफका प्रवक्ताले टाइम्स अफ इजरेललाई बताएका छन्।
हालसम्म कम्तीमा ७०० इजरेलीहरू मारिएका छन् र दर्जनौँ अपहरणमा परेका छन्। टर्कीस्थित इजरेलको दूतावासले आफ्नो देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।
इजरेली हवाई हमलामा गाजा स्ट्रिपमा कम्तीमा ४ सय ४२ व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।
इजरेली अधिकारीहरूले देश “अझै युद्धमा रहेको” र अझै पनि इजरेली क्षेत्रलाई हमासको कब्जाबाट पूर्ण नियन्त्रण लिने प्रयास गरिरहेको बताएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उच्च रक्षा अधिकारीहरूसँग छलफल गरी सुरक्षा स्थितिको मूल्याङ्कन गरिरहेको बताइएको छ। उनले बदला लिने र हमासका सबै सैन्य तथा सरकारी क्षमतालाई नष्ट गर्ने चेतावनी दिएका छन्। उनले गाजाका बासिन्दाहरूलाई आफ्नो घर छोडेर शरण लिन भनेका छन्।
नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ। इजरेली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिवार राति नै गाजा अन्धकार बनेको थियो।
इजिप्टसहित इजरेलले सुरक्षाको कारण देखाउँदै सन् २००७ यता गाजा स्ट्रिपमा नाकाबन्दी लगाएको छ। इजरेलले गाजामाथिको हवाई क्षेत्र र त्यहाँको तटीय क्षेत्रमा पनि नियन्त्रण कायम राखेको छ र उसले सीमाबाट के समान लैजान दिने वा नदिने निर्धारण गर्छ।