इजरायलमाथि आक्रमण गर्ने हमास के हो ?
काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच शनिबारदेखि पुनः लडाइँ जारी छ । प्यालेस्टाइन लडाकु समूह हमासले शनिबार एक्कासी इजरायलमा आक्रमण सुरु गरेपछि इजरायलले प्रतिरोध गरेको बताइएको छ ।
यो लडाइँमा दुबै तर्फ गरी ८ सय जना मारिएको विवरण सार्वजनिक भइरहेका छन् । इजरायलमा कृषि विषय अध्ययनका लागि गएका १० जना नेपालीहरुको पनि मृत्यु भएको पुष्टि भएको छ ।
विश्वमै शक्तिशाली तथा अत्याधुनिक हतियार र प्रविधिले सुसज्जित इजरायली सेनालाई हमास विद्रोही लडाकुहरुले आच्छुआच्छु पारे । आखिर को हुन् हमास लडाकुहरु ?
प्यालेस्टिनी चरमपन्थी संगठन र राजनीतिक पार्टीको लडाकु समूह हो हमास । यो सन् १९८० को दशकमा स्थापना भएको थियो। हमासको स्थापना शेख अहमद यासिनले गरेका थिए । १२ वर्षको उमेरदेखि नै ह्वीलचेयरमा हिँड्ने उनी धार्मिक नेता थिए । सन् २००४ मा इजरायली हमलामा उनको मृत्यु भएको थियो । उनको घर सङ्ग्राहलय बनाइएको छ र उनले प्रयोग गर्ने ह्वील चेयरमा उनको फोटो राखिएको छ ।
हमासले सन् १९८७ मा इजरायलविरुद्ध प्यालेस्टिनी जनताको आवाज उठाउन पहिलो ‘इस्लामिक प्रतिरोध आन्दोलन गरेको थियो । त्यसलाई अरबी भाषामा ‘इन्तिफादा’ भनिन्छ ।
सन् १९९० को दशकदेखि हमासले आफूलाई सैन्य संगठनको रूपमा स्थापित गर्न काम गरिरहेको छ। हमास गाजापट्टीबाट सञ्चालन हुन्छ। त्यहाँ उसले सरकार चलाउँछ र जनतालाई सहयोग गर्छ। हमासको ‘इज्जेदिन अल कसाम ब्रिगेड’ नामको सैन्य शाखा छ । इजरायलमा आक्रमण गरेको यसैले हो ।
हमास अत्याधुनिक हतियार, बख्तरबन्ध गाडी, लन्चर, रकेट बम र ड्रोनहरुबाट सुसज्जित छ ।
वास्तवमा सन् १९४८ मा इजरायल बनेपछि अरब राष्ट्रहरूमा असन्तुष्टि बढ्यो । जोर्डन, इजिप्ट, सिरिया, सबै अरब देश प्यालेस्टिनी प्राधिकरणमा सरोकारवाला थिए। १९६४ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन इजरायलको विरोध गर्न गठन गरिएको थियो। यासिर अराफात सन् १९८० र १९९० को दशकमा पीएलओका सबैभन्दा लोकप्रिय नेता थिए। उनको पार्टीको नाम फतह पार्टी थियो, जसले गाजा र वेस्ट बैंकमा सन् १९९६ मा भएको पहिलो चुनाव जितेको थियो।
गाजा र वेस्ट बैंकको क्षेत्रलाई ‘प्यालेस्टाइन नेशनल अथोरिटी’ भनेर चिनिन्छ, जहाँ प्यालेस्टिनीहरू सरकार चलाउँछन्। ‘प्यालेस्टाइन नेशनल अथॉरिटी’ लाई संयुक्त राष्ट्र संघले पनि मान्यता दिएको छ ।