निर्माण व्यवसायीको बक्यौता दशैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री महत

मूलखबर संवाददाता
काठमाडौं

भरतपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुको बक्यौता रकम सरकारले दशैँअघि नै भुक्तानी गर्ने दावी गरेका छन् ।

आज चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्माण व्यवसायीको गत असारसम्मको रकम भुक्तानीको तयारी सरकारले गरिरहेको जानकारी दिए  ।

मन्त्री महतले बाहिर चर्चामा आएजस्तो ठूलो रकम नभई अब ६/७ अर्व मात्रै भुुक्तानी दिन बाँकी रहेको दाबी समेत गरे ।

मन्त्री महतलले भुक्तानी गर्न बाँकी रकमवारे सम्वन्धित मन्त्रालयलाई यथार्थ विवरण पेश गर्न निर्देशन दिएको र त्यसपछि रकम उपलब्ध गराइने जानकारी दिए ।

यसअघि निर्माण व्यवसायीहरूले काठमाडौंमा भेला भएर भुक्तानीको माग गर्दै प्रदर्शन तथा सरकारी कार्यालयहरुमा तालाबन्दी गरेका थिए ।

सामाजिक सञ्जाल र आम जनतामा निराशा पैदा गर्न हल्ला फिजाइएको तर त्यस्तो स्थिति नरहेको अर्थमन्त्री महतले बताए ।

राष्ट्रबैँकले हिजो जारी नयाँ नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री महतले अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह समेत गरे ।

उनले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको जिकिर पनि गरे । अर्थमन्त्री महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गरे । देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने उनले विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न अहिलेको सरकार लागिपरेको बताए। उनले भने, ‘व्यक्तिले जथाभावी खर्च नगर्ने, व्यवसायीले मनलाग्दी तरिकाले लगानी नगर्ने र सरकारले प्राथमिकताको आधारमा लगानी गर्ने हो भने अहिलेको सङ्कट टर्छ ।’