
६० किलो सुन तस्करीका २५ आरोपी पुर्पक्षका लागि थुनामा, एकजना धरौटीमा रिहा
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २६ जनामध्ये २५ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । एक जना रुक्मिना सुब्बालाई भने अदालतले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उक्त आदेश गरेको हो । पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएका २५ जना प्रतिवादीहरुलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।
गत साउन २ गते राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७ सय ग्राम सुन र त्यसको तस्करीमा संलग्न भएको भनिएका आरोपीहरुलाई संगठित अपराधमा अनुसधान गरी सीआईबीले भदौ ३१ गते मुद्दा दायर गरेको थियो । आरोपीहरुको बयान पछि १० असोजदेखि थुनछेक बहस थालिएकामा अदालतले आज दुवै तर्फका कानुन व्यवसायीको बहस पछि थुनामा राख्न आदेश दिएको हो ।
