दुर्गम बस्तीमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मूलखबर संवाददाता
काठमाडौं

ताप्लेजुङ । नेपाल टेलिकमले ताप्लेजुङका दुर्गम बस्तीमा पनि फोरजी सेवामार्फत इन्टरनेटको पहुँच पुर्याएको छ ।

गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा पनि फोरजी सेवा पुगेको हो ।

केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मुरिङला डाँडामा बिहीबारदेखि फोरजी सेवा सुरु भएसँगै आफ्नै घरबाट इन्टरनेट प्रयोग गर्न पाएको स्थानीय रोशन लिम्बू बताउँछन् ।

गत भदौको पहिलो साता फक्ताङलुङको लोवा डाँडामा नेपाल टेलिकमले फोरजी टावरमार्फत सेवा सुरु गरेको थियो । उक्त टावरले फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चार क्षेत्रमा फड्को मारेको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा इन्टरनेटको सुविधा पुगेको दूरसञ्चार कार्यालय ताप्लेजुङले जनाएको छ ।

हाल माओवादी केन्द्रकी नेता रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि टावर विस्तार, सुधार र दुर्गम वस्तीहरुमा पनि तीव्र गतिको इन्टरनेट सेवा पुर्याउने कामलाई तीव्रता दिएकी छन् ।