लामीडाँडामा ७ हेलिकोप्टरको आकस्मिक अवतरण
खोटाङ । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेका ७ हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् ।
खराब मौसमका कारण हेलिकोप्टरका पाइलटले आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका हुन् । मौसममा सुधार आएपछि सबै हेलिकोप्टर गन्तव्यतर्फ लागेका थिए ।
खराब मौसमका कारण आज बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म ७ हेलिकोप्टरले आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिए ।
बरालका अनुसार पर्यटक बोकेका ती हेलिकोप्टर लुक्लामा अवतरण हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा अवतरण गरेका थिए ।
२०७६ सालदेखि हवाईजहाजको उडान बन्द रहेको लामीडाँडा विमानस्थल पछिल्लो समय हेलिकोप्टरको आकस्मिक अवतरणका लागि प्रयोग हुँदै आएको छ । लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिए पनि सञ्चालनमा आउन सकेको छैन ।
जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले २०२६ सालमा खोटाङको लामीडाँडामा विमानस्थल निर्माण गरिएको थियो ।
त्यसको दुई वर्षपछि २०२८ बाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको विमानस्थलमा हाल कालोपत्रे भए पनि सञ्चालनमा आउन सकेको छैन ।