
नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम सम्झौता
काठमाडौं । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम सम्झौता भएको छ ।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल र रोमानियाबीच सन् १९६८ अप्रिल २० मा कूटनीतिक सम्बन्ध कायम भएको थियो ।
युरोपेली मुलुक रोमानिया नेपाली श्रमिकहरूका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्तामा नेपालमा छिट्टै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्ने पनि समझदारी भएको छ ।
आप्रवासी कामदारहरूले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको रोमानिया पक्षले जनाएको छ ।
सम्झौताका क्रममा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपाली रामकाजी खड्का, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल लगायत सहभागी थिए ।
