गुण्डा नाइके रिगललाई कैद मिनाहा दिनुको कारण सर्वोच्चद्वारा माग
काठमाडौं । सर्वोच्च अदालतले नेपालगन्जका ‘गुन्डा नाइके’ रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा दिनुको कारण सरकारसँग माग गरेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले भारती मानन्धरको रिटमाथि सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई माफी दिनुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
शर्माको इजलासले यो रिटलाई अग्राधिकारसहित असोज २५ गतेका लागि अर्को पेसीसमेत तोकेको छ । साथै पीडित परिवारको सुरक्षा व्यवस्था गर्नसमेत आदेश दिएको छ ।
रिगलले २०७२ असार २८ गते चेतनलाई नियन्त्रणमा लिएर बाँकेको धम्बोजीमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका थिए । बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
तर संविधान दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई कैद सजाय माफी दिएपछि उनी जेलबाट छुटेका छन् ।
त्यसविरुद्ध मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । साथै भारती बुधबारदेखि काठमाडौंको माइतीघर मण्डलामा रिले अनशन बसेकी छन् ।