नर्वेका लेखक फोसालाई नोबेल साहित्य पुरस्कार

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक यून फोसालाई दिने निर्णय भएको छ । द स्वीडिश अकाडेमीले फोसालाई साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

‘व्यक्त गर्न नसकिने कुरालाई पनि उनले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले नोबेल पुरस्कार दिने निर्णय लिइएको एकाडेमीले जनाएको छ ।

सन् १९५९ मा जन्मिएका फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्छन् र उनको शैलीलाई ‘फोसा मिनिमलिजम’ को संज्ञा दिने गरिएको छ । फोसाले प्रतिष्ठित नोबेल पुरस्कार पाउँदा आफू ‘अभिभूत र केही त्रसित’ भएको प्रतिक्रिया दिएका छन्।

उनका ४० वटा नाटक, कैयौँ उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन्।

यसअघि रसायनशास्त्रको नोबेल पुरस्कार अमेरिकाको एमआईटी विश्वविद्यालयका मोंगी बावेन्डी, कोलम्बिया विश्वविद्यालयका लुइस ब्रुस र नानो क्रिस्टल्स टेक्नोलोजी इङ्‌कका अलेक्सी एकिमोभलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।

यसैगरी कोभिड-१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रू भाइस्मानले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

यसैगरी भौतिक शास्त्रतर्फको पुरस्कार ‘सूक्ष्म कालखण्ड’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल’हुलिएले पाएका छन्।

अब अर्थशास्त्र र शान्तितर्फको नोबेल पुरस्कार घोषणा हुन बाँकी छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने स्टकहोम, स्वीडेनमा प्रदान गरिन्छ।