चाडपर्वमा सर्वसाधारणलाई सहज र सुलभ यातायातको व्यवस्था गर्न सांसद माझीको माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य उर्मिला माझीले नजिक आइरहेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा सर्वसाधारणलाई सहज र सुलभ यातायातको व्यवस्था गर्न माग गरेकी छन् ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बुधबारको बैठकमा माझीले सर्वसाधारणको सुविधालाई सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको समेत सहभागिता रहेको सो बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद माझीले सडकका खाल्डाखुल्डी तत्काल पुर्नुपर्ने, यातायातका साधनको गति नियन्त्रण र नियमित गर्न राजमार्गमा सिसिटिभीको व्यवस्था गर्नुपर्ने विषयमा मन्त्रीको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् ।
बैठकमा अन्य सांसदहरूले दशैँको बेला सरकारले जनतालाई सुलभ यातायातको व्यवस्था गर्नको लागि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले यस विषयमा सरकारले गृहकार्य गरेर व्यवस्था गर्ने बताएका थिए ।
यसअघि मंगलबारको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद माझीले बजारमा खाद्यान्न लगायत सबै उपभोग्य वस्तुको मूल्य आकासिएको भन्दै महँगी नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।