माओवादी सचिव आचार्यको स्वास्थ्य समस्या के हो ? अहिले अवस्था कस्तो छ ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अचानक अस्वस्थ भएपछि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ । उनी निकट स्रोतका अनुसार उनको दायाँ भाग चलाउन र बोली निकाल्न समस्या देखिएको छ ।

उनको उपचार काठमाडौंको वीर अस्पतालमा जारी छ ।

जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम इन्चार्ज आचार्य अछाम जिल्लाको कार्यक्रममा सहभागी भइरहेका थिए । साँफेबगरमा अभियानको समीक्षा बैठकमा सहभागी हुने बेला अचानक अस्वस्थ भएपछि उनलाई मङ्गलबार साँझ स्थानीय बयलपाटा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार नहुने भएपछि बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमा राखेर बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । कोहलपुरका चिकित्सकले काठमाडौं लैजान सल्लाह दिएपछि उनलाई फेरि काठमाडौंको वीर अस्पताल ल्याइएको हो ।

माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाका अनुसार सचिव आचार्यमा प्यारालाइसिस जस्तो समस्या देखिएको थियो । ‘कार्यक्रममा सहभागी हुन जाँदा उहाँ बोल्न सक्नु भएन, एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज पठाएका हौं,’ उनले भने ।

आचार्यसँगै रहेका माओवादी नेता खगराज भट्टका अनुसार शरीरको दाहिने भाग चलाउन गाह्रो भएपछि पहिले बयलपाटा अस्पताल र पछि नेपालगञ्ज लगिएको थियो । सीधै काठमाडौं ल्याउन चाहेको भए पनि मौसमले साथ नदिएपछि सुरुमा नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको थियो । त्यसपछि काठमाडौं ल्याइएको उनले बताए ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार आचार्य खतरामुक्त छन् । उनको ब्लड प्रेसर पनि कन्ट्रोलमा छ । अब थेरापीमार्फत् थप उपचार गरिने छ । उनलाई सामान्य अवस्थामा फर्किन भने केही समय लाग्ने छ ।

स्रोतका अनुसार आचार्यको टाउकोमा पुरानो चोट देखिएको छ । आचार्यलाई केही वर्ष पहिले ह्रदयाघात भएको थियो । पहिलो पटक माइनर हर्ट अट्याक पनि भएकाले उनलाई काठमाडौं ल्याएर उपचार थालिएको छ ।

पूर्वसांसद समेत रहेका आचार्य माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज हुन् । २०५६ सालमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका आचार्य शान्ति प्रक्रियापछि माओवादीमा प्रवेश गरेका थिए ।

सरल भाषाशैलीमा अत्यन्तै कसिलो प्रशिक्षण दिने नेताको रूपमा उनी परिचित छन् । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त लगायतका नेताहरु वीर अस्पताल पुगेर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।