दुई सातापछि संसद बैठकको तयारी, अवरोध गर्न ठिक्क परेको एमाले

मूलखबर संवाददाता
काठमाडौं

दुई सातापछि आज (आइतबार) प्रतिनिधिसभा बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे शुरू हुनेछ । गत भदौ २९ गते बसेको प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्मलाई स्थगित गरिएको थियो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । यस्तै सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन् ।

यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमण गएदेखि संसद् बैठक बसेको थिएन । भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड त्यहीबाट चीन भ्रमण गरेर शनिबार स्वदेश फर्किएका छन् ।

यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सरकारले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आलटाल गरेको भन्दै संसद्मा कडा रूपमा प्रस्तुत हुने संकेत गरेको छ । सहमति कार्यान्वयन नगरेर सरकारले संसद्लाई मुडभेडतर्फ धकेल्ने खोजेको एमालेको आरोप छ ।

यसैलाई मुद्दा बनाएर एमालेले फेरि संसद् अवरुद्ध गर्ने संकेत एमाले सचेतक महेश बर्तौलाले गरेका छन् । ‘सरकार संसद् बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ । मुलुकको समग्र राजनीतिलाई अविस्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भनेका छन्, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन । अब यसको सावाँ र ब्याजसहित समग्र हिसाबकिताब आज संसद् बैठकमा हुने नै छ ।’