पाकिस्तानमा भएका विष्फोटमा ५० भन्दा बढीको मृत्यु

मूलखबर संवाददाता
काठमाडौं

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान र खैबरपख्तुनख्वा प्रान्तमा आज भएका तीनवटा छुट्टाछुट्टै विस्फोटमा ५७ जनाको मृत्यु भएको छ । विस्फोटमा एक सय जनाभन्दा बढी घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तको मास्तुङ सहरस्थित मदिना मस्जिदनजिकै पैगम्बर मोहम्मदको जयन्ती मनाउन मानिसहरु भेला भएका बेला विस्फोट हुँदा ५२ जनाको मृत्यु भएको छ । विस्फोटमा एक सय जनाभन्दा बढी घाइते भएको र दर्जनौंको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले आत्मघाती विस्फोट गराइएको आशंका गरे पनि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । वरिष्ठ प्रहरी अधिकृत नवाज गिश्कोरी चढेको गाडीनजिकै आत्मघाती बिस्फोट गराइएको प्रहरीको भनाइ छ ।

बलोचिस्तान प्रहरीका प्रमुख अब्दुल खालिक शेखका अनुसार आक्रमणकारीलाई रोक्न खोज्ने क्रममा एक जना वरिष्ठ प्रहरी अधिकारीको पनि विस्फोटनमा परेर मृत्यु भएको छ।

बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अली मर्दन खान डोमकीले शान्तिपूर्ण भेलामा भएको विस्फोटको निन्दा गर्दै घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन् ।  प्रान्तमा आपतकाल र तीन दिनसम्म शोक घोषणा गरिएको छ ।

यस्तै, खैबर पख्तुनख्वा प्रान्तको हाङगुमा भएका दुई विस्फोटमा पाँचजनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । हाङगु क्षेत्रको प्रहरी चौकीमा विस्फोट भएको केही समयपछि नजिकैको मस्जिदमा दोस्रो विस्फोट भएको थियो ।

पाकिस्तानका आन्तरिक मामिला मन्त्री सरफराज बुग्टिले आक्रमणलाई “निकै क्रूर काम” को सङ्ज्ञा दिएका छन्।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बालोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो। पाकिस्तानी तालिबान पनि भनिने तेहरिक-ए पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले त्यहाँ बारम्बार आक्रमण गर्दै आएका छन्।

टीटीपीले शुक्रवारको घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।