नायक अनमोल केसी ठगी आरोपमा पक्राउ

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ । प्रहरीले उनलाई भक्तपुरको काभ्रेको सीमा क्षेत्र साँगाबाट पक्राउ गरेर काठमाडौं ल्याएको स्रोतले जनाएको छ ।

अनमोलले फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ लिएको तर अन्तिम समयमा काम गर्न नसक्ने बताएका थिए । त्यसपछि पक्का गरेर अन्तिम अवस्थामा काम नगर्ने बताएका थिए । जसका कारण निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भनिने चन्द्रकला कटुवालले अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा एसपी मिलन केसी र इन्स्पेक्टर हरि बस्नेत नेतृत्वको टिमले अनमोललाई पक्राउ गरेको हो ।

अनमोल केसी नेपाल चलचित्र विकास बोर्डका वर्तमान अध्यक्ष भुवन केसीका छोरा हुन् ।

अनमोलले केही दिन अगाडि मात्र कसैको दबाबमा आफूले फिल्ममा काम नगर्ने भन्दै स्टाटस लेखेका थिए । अनमोलले बिहीबार मात्र कालिञ्चोकको तस्वीर स्टोरीमा अपलोड गरेका थिए । आज, उनी कालिञ्चोकबाट काठमाडौं फर्कदै गर्दा साँगाबाट पक्राउ परेको स्रोतले बतायो ।