गृह मन्त्रालयका कर्मचारीलाई दैनिक १५ मिनेट ध्यान गरेर मात्र काममा खटिन निर्देशन

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । गृह मन्त्रालयले अधिकृतदेखि माथिका सबै कर्मचारीहरुलाई कम्तिमा १५ मिनेट ध्यान गरेर मात्र कार्यालयको काममा खटिन निर्देशन दिएको छ ।

मन्त्रालयले सबै महाशाखालाई परिपत्र गर्दै हरेक दिन बिहान सवा १० बजेभित्र अनिवार्य रुपमा कम्तिमा १५ मिनेट योगाभ्यास वा ध्यान गरेर मात्र आ–आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका उपसचिव भीमकान्त शर्माले आज महाशाखहरुलाई पत्र पठाउँदै उक्त कार्य गर्न भनेका हुन् ।

यसअघि गृह मन्त्रालय र काठमाडौं उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीहरुको सहभागीतामा एक दिने ध्यान विज्ञान कार्यक्रम सन्चालन गरेको थियो । मन्त्रालयले अन्य तहका कर्मचारीहरुका लागि पनि निकट भविष्यमा यस्तै प्रशिक्षण प्रदान गर्ने योजना रहेको जनाएको छ ।

योग र ध्यानले एकाग्र र शान्त मनले काम गर्ने वातावरण सिर्जना हुने मन्त्रालयको विश्वास छ ।