लमजुङ अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने वडाध्यक्ष बस्नेत पक्राउ ( घटना विवरणसहित)

मूलखबर संवाददाता
लमजुङ, ८ असाेज

चिकित्सकमाथि आक्रमण गरेको अभियाेगमा लमजुङमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।

लमजुङकाे जिल्ला अस्पताल लमजुङमा चिकित्सकमाथि हातपात गरेको आरोपमा साेमबार प्रहरीले बेंसीसहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई पक्राउ गरेको हाे ।

घटना आइतबार राति भएको हो । प्रहरीका अनुसार आफ्नी आमालाई उपचारार्थ भर्ना गर्ने क्रममा डाक्टरसहितका स्वास्थ्यकर्मीसँग विवाद हुँदा बस्नेतले मेडिकल अधिकृत डा. सन्दीप अधिकारीमाथि हातपात गरेको आरोप छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाइँका अनुसार वडाध्यक्ष बस्नेतलाई राती साढे १ बजेतिर पक्राउ गरिएको हो । ‘बिरामी भर्ना गर्ने बेला भनाभन भएको र वडाध्यक्षले अपशब्द बोल्दै हातपात गरेको बुझिएको छ‚’ उनले भने । बस्नेतमाथि कारबाही माग सोमबार जिल्ला प्रहरीमा जाहेरी परेको छ ।

लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले आमालाई भर्ना गर्ने क्रममा वार्डको नर्सिङ स्टेसनमा वडाध्यक्षले डाक्टरमाथि हातपात गर्दै नर्सलगायत कर्मचारीमाथि अपशब्द बोलेको बुझिएको बताए । ‘डा. सन्दीप ड्युटीमा हुनुहुन्थ्यो । वडाध्यक्षले आमाको भर्नामा मञ्जुरीनामा नगर्ने भनेपछि विवाद भएको बुझिन्छ । मञ्जुरीनामा गर्न अनुरोध गर्दा नमानेको र उल्टै डाक्टरमाथि हातपात गर्नुभएछ‚’ उनले भने ।

डा. तिवारीका अनुसार बिरामी भर्ना गर्दा बिरामी वा आफन्तले मञ्जुरीनामा गर्नुपर्छ । राती साढे १० बजेपछि उक्त घटना भएको हो । पीडित डा. अधिकारीसहित अन्य ९ जनाले प्रहरीमा जाहेरी दिएको मेसु तिवारीले बताए । लमजुङको बेंसीसहर-१ उदिपुर घर भएका डा. अधिकारी तीन महिना अघिमात्रै लमजुङ अस्पताल आएको तीन महिना मात्रै भएको छ ।

घटना यस्तो रहेछ : 

आइतबार राति १० बजेतिर पनि एक जना विरामी आइपुगिन् र आफन्तले आकस्मिक लगे । ल्याब टेस्टबाट पनि उनलाई डेंगी लागेको पुष्टि भइसकेको थियो ।

उनले खाना खाइरहेकी थिइनन् । सेतो रगतको मात्र र प्रेसर पनि कम देखिएपछि डाक्टरले भने, ‘भर्ना गरेर उपचार गरौं, अवस्था गम्भीर त छैन तर घरमा लैजानुभन्दा १/२ दिन यहीँ राखेर उपचार गर्दा छोटो ठीक हुन्छ ।’

विरामीका आफन्तले जनरल वार्डमा भर्ना गर्न लगे । वार्डमा भर्ना गर्नुपर्ने जानकारी पाएपछि एक जना व्यक्ति आइपुगे । किन भर्ना गर्ने भनेर विवाद गर्न खोजे । अस्पतालमा भर्ना गर्नुअघि डाक्टरले मञ्जुरीनामा गराउँदै थिए । मञ्जुरीनामाको सर्तहरु आफूलाई मान्य नहुने भन्दै उनले आपत्ति जनाएपछि डाक्टरले उनलाई चित्त बुझाउने गरी हातैले लेखेर हस्ताक्षर गर्न भने ।

कानुनी प्रक्रिया पूरा गर्नका लागि देशैभरिका अस्पतालमा गराइने मञ्जुरीनाका विषयमा आपत्ति जनाउँदै विवाद सिर्जना गरेका युवा यतिमै रोकिएनन् र डाक्टरमाथि नै मुक्का प्रहार गरे । मुक्का प्रहार गर्ने व्यक्ति हुन्, लमजुङको बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेत ।

‘अस्पतालमा भएको मञ्जुरीनामामा आपत्ति जनाएपछि आफैंले हातले लेखेर पनि दिएँ तर उहाँले स्वीकार्नुभएन र निहुँमात्र खोजिरहनुभयो,’ अधिकारीले भने, ‘यो अस्पतालमा उपचारै गर्दिनँ भन्दै अपशब्द बोल्दै टाढैबाट मोबाइल जटारो हान्नुभयो । चुकुल खोलेर नर्सिङ स्टेसनमा छिरेर निधारमा मुक्का हान्नुभयो । कुर्ची उचालेर फाल्दै हुनुहुन्थ्यो, तर साथीहरुले छेकेर जोगिएँ ।’