
मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । काठमाडौंको दशरथ रंगशालामा आज दिउँसो भएको प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सलाई ४–१ गोलले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालको जितमा समीर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले एक–एक गोल गरे । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।
घरेलु मैदानमा नेपालले १६ औं मिनेटमै प्रशान्त लक्समको गोलबाट अग्रता लिएको थियो । प्रशान्तको लङ रेञ्जबाट प्रहार गरेको बलले पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो । यस्तै २९ मिनेटमा समीर तामाङ निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको थियो । ८८ औं मिनेटमा नेपालका निराजन धामीले अर्को एक गोल थपेर खेललाई ३–१ को स्थितिमा पुर्याएका थिए । यस्तै खेलको ९६औ मिनेटमा समीर तामाङले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–१ गोलले जिताए ।
दुवै टिमका एक–एक जना खेलाडीले रातो कार्ड पाएका थिए । नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसनलाई रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
त्यसअघि नेपालले पहिलो गोल गरेलगत्तै हसनलाई सुजनले कुमले धकेलेर लडाएका थिए । त्यसपछि हसन सुजनप्रति आक्रामक भएका थिए । यही बाफत रेफ्रीले दुबै खेलाडीलाई रातो कार्ड देखाएका थिए ।
