बेइजिङमा आज नेपाल–चीन बिजनेस समिट
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)को आयोजनामा बेइजिङमा नेपाल चीन बिजनेस समिट हुँदै छ। द्विपक्षीय व्यापार प्रवर्द्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको अवसर पारेर २४ सेप्टेम्बर (आइतबार) अर्थात आज दिउसो सीसीपीआइटीको मुख्यालय बेइजिङमा समिट आयोजना हुने महासंघले जनाएको छ । उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहनेछ ।
नेपालका तर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउनेछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस बैठक पनि राखिएको छ ।
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्त्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रीसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।