प्रचण्डको साइडलाइन कूटनीतिः नर्वेका प्रधानमन्त्री गारसँग गरे कुराकानी
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा भेटघाट भएको छ ।
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए ।
प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन् ।
यसअघि प्रचण्डले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केन र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक सामन्था पावरले आयोजना गरेको ‘डेमोक्रेसी डेलिभर्स’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै भनेका थिए, “नेपालको इतिहास नागरिकको सङ्घर्ष र योगदानका आधारमा निर्मित छ, यस्तो सङ्घर्ष स्वतन्त्रता, न्यायिक अधिकार, समानता र सशक्तीकरणका लागि भएको थियो ।”