आज विदेशी मुद्राको विनिमय दर कति, डलर बढिरहँदा हामीलाई घाटा वा नाफा
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९१ पैसा बिक्री दर ८६ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९९ रुपैयाँ ४१ पैसा तोकिएको छ।
यस्तै यूएई दिराम एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा, साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा तथा कुवेत दिनार एकको खरिद दर ४३० रुपैयाँ ५५ पैसा र बिक्री दर ४३२ रुपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
डलर बढ्दा घाटा वा नाफा
अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३३ रूपैयाँ ५४ पैसा तोकिएको छ। भारतीय मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर भएपछि नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर (पेग्ड) गरिएकोले पनि भारतीय मुद्रा घट्दा नेपाली मुद्राको पनि भाउ घट्छ।
कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले पनि अमेरिकी डलरलाई बलियो बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। बेन्ट र डब्लुटिआई कच्चा तेलको मूल्य लगातार तीन सातादेखि वृद्धि भएको छ। यता भारतको व्यापार घाटा समेत १० महिनाकै उच्च भएको छ। भारतको व्यापार घाटा अगष्टमा २४ अर्ब डलर पुगेको छ।
बुधबार अमेरिकी केन्द्रीय बैंक फेडबाट ब्याजदरसम्बन्धी घोषणा आउने बताइएको छ। अमेरिकामा मूल्य वृद्धिदरमा सुधार भइरहेपनि ब्याजदर नघट्ने भएको हो। सम्भवतः अब अन्तिम पटक ०.२५ बिन्दुले ब्याजदर बढ्नेछ। यो वृद्धिपछि गत २०२२ मार्च यता ११औं पटक ब्याजदर बढ्नेछ।
फेडको केही समयदेखि यो दर ५.२५ देखि ५.५० प्रतिशतसम्म सीमित पार्ने उद्देश्य लिइएको छ। हाल यो दर ५.५ प्रतिशत छ। यो बेन्चमार्क ब्याजदर सन् २००१ यताकै उच्च हो। अमेरिकामा केही समय अघिसम्म मूल्य वृद्धि दर ४० वर्षकै उच्च थियो। यो ९.१ प्रतिशतसम्म पुगेको थियो। जुनमा त्यहा मूल्य वृद्धि दर ३.७ प्रतिशत थियो।
नेपालमा डलरको भाउ बढ्दा रेमिटेन्सबाट प्राप्त हुने रकम बढ्नेछ। तर, आयातित वस्तुको लागत बढ्नेछ भने मूल्य वृद्धिको सम्भावना समेत रहनेछ।