दुई शक्तिशाली नेताको बहुप्रतीक्षित वार्ताः पुटिन र किम लड्ने भनेको साम्रज्यवादी को हो !
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच बुधबार रुसी अन्तरिक्ष केन्द्रमा एक घण्टाभन्दा बढी समय वार्ता भएको छ । अमेरिकी अधिकारीहरूले दुई नेताबीचको हतियार सम्झौतामा युक्रेनविरुद्ध प्रयोग गर्न मस्कोलाई प्योङयाङले हतियार उपलब्ध गराउन सक्ने टिप्पणी गरेका छन् ।
पुटिनले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उत्तर कोरियालाई भूउपग्रह र रकेट प्रक्षेपण गर्न रूसले मद्दत गर्ने बताएका छन् । यस्तै किमले आफू सधैँ रुसको साथमा रहने बताएका छन् । उनले रुसको ‘पवित्र लडाइँलाई आफ्नो देशले ‘पूर्ण र बिनासर्त मद्दत’ गर्ने टिप्पणी गरेका छन् ।
यसअघि उत्तर कोरियाले बुधबार बिहान दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । रुसले उत्तर कोरियाली नेता किम जोङ उनको भ्रमणको सम्मानमा बुधबार भव्य आधिकारिक रात्रभिोजको आयोजना गरिरहेको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, पुटिन र किमले कुनै कागजातमा हस्ताक्षर गर्ने योजना नरहेको बताएका छन् ।
के हो साम्राज्यवादविरुद्धको लडाईं
किम जोङ उनले पुटिनलाई भेट्दा रुस र उत्तर कोरिया साम्राज्यवादविरुद्धको लडाइँमा सँधै एक हुनुपर्ने बताए । वास्तवमै यो सन्दर्भमा साम्राज्यवादको अर्थ के होला ? बीबीसीका अनुसार उत्तर कोरियाका लागि साम्राज्यवादको अर्थ सँधै एउटा रहन्छ, त्यो हो अमेरिका ।
उत्तर कोरियाले अमेरिकालाई सँधै एक साम्राज्यवादी र बदमाशको रूपमा हेर्छ । उत्तर कोरियाका अनुसार अमेरिकाले विश्वलाई आणविक हतियार र तानाशाहहरूबाट मुक्त गर्ने र शान्ति बहाल गर्ने बहाना बनाएर अन्य देशहरूमा आक्रमणको प्रयास गर्छ ।
उत्तर कोरियाले दास व्यापार र कोरियाली युद्धलाई उदृत गर्दै अमेरिकाले सँधै ‘साम्राज्यवादी विदेश नीति’ पछ्याएको आरोप लगाउँछ । कोरियाली युद्धका क्रममा आफ्ना देशका २० प्रतिशत मानिसहरू मारिनुमा पनि अमेरिकको हात रहेको उत्तर कोरियाको आरोप छ ।
तर वास्तवमा, कोरियाली युद्ध तब सुरु भयो जब उत्तर कोरियालेले दक्षिण कोरियामा आक्रमण गरेको थियो । त्यसबेला सन् १९५० देखि १९५३ सम्म अमेरिका दक्षिण कोरियाको समर्थनमा उत्तर कोरियाविरुद्ध उत्रिएको थियो ।
केही समयअगाडि मात्र उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको अमेरिका विरोधी र्यालीमा मानिसहरूले ‘साम्राज्यवादी अमेरिका शान्तिको विनाशकारी हो’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।