
एसिया कप क्रिकेटः भारत एक खेल खेल्न बाँकी हुँदै फाइनलमा
भारत एक खेलअगावै जारी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको सुपर फोरको आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का गरेको हो।
२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा अल आउट हुँदै १७२ रनमा समेटियो। उसका लागि दुनिथ वेल्लालागेले अविजित रहँदै सर्वाधिक ४२ रन जोडे। त्यसबाहेक धनन्जय डीसिल्भा ४१, चरिथ असलंका २२, सदीरा समराविक्रमा १७, कुशल मेन्डिस १५ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका कुलदीप यादवले चार, रविन्द्र जडेजा र जसप्रित बुमराहले समान दुई-दुई तथा मोहम्मद सिराज र हार्दिक पाण्ड्याले समान एक-एक विकेट लिए। त्यसअघि कोलम्बोको आर प्रेमादाशा रंगशालामा टस जितेर ब्याटिङ रोजेको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए। केएल राहुल ३९, इसान किसान ३३, अक्षर पटेलले २६, शुभमन गिल १९ रन बनाए। मोहम्मद सिराजले अविजित रहँदै ५ रन बनाउँदा बाँकी पाँच खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
श्रीलंकाका दुनिथ वेल्लालगेले पाँच विकेट लिँदा चरिथ असलङकाले चार र महीश थिक्सानाले एक विकेट हात पारे।
अब भारतले सुपर फोरको आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्नेछ। जितसँगै भारत चार अंक र ठूलो रनरेटसँगै पहिलो स्थानमा छ। समान दुई-दुई अंक भएको श्रीलंका र पाकिस्तान क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्। बंगलादेश भने दुई खेलमा पराजित भएसँगै अंकविहीन भएर तालिकाको पुच्छारमा छ।
अब बिहीबार श्रीलंका र पाकिस्तानबीच खेल हुँदैछ। सो खेलको विजेताले आइतबार हुने फाइनलमा भारतसँग उपाधिका लागि भिड्नेछ। फाइनलअघि भारत र बंगलादेशबीचको खेल शुक्रबार हुनेछ। जुन खेल दुवै टिमका लागि प्रतिष्ठाका लागि मात्र हुनेछ।
