समाजवादी मोर्चाको सन्देशसभाः हेटौंडासहितका भाषणमा के भनिरहेका छन् नेताहरू
समाजवादी मोर्चा प्रदेशमा ‘सन्देश सभा’को आयोजना गर्न व्यस्त छ । आइतबारमात्रै वाग्मती प्रदेशको हेटौँडामा सन्देश सभा भयो । मोर्चाले यसअघि कर्णाली, गण्डकीमा सन्देश सभा गरिसकेको छ ।
सत्तारूढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको समाजवादी मोर्चाको गठन भएपछि नेपाली राजनीतिमा एउटा बलियो कम्युनिष्ट केन्द्र बन्नसक्ने अनुमान पनि भैरहेका छन्।
मोर्चासँग ५४ प्रतिनिधिसभा सदस्य छन् । मोर्चाको एक घटक नेपाल कम्युनिस्ट पार्टी भने सरकारमा छैन । मोर्चामा एमसीसी कार्यान्वयनमा खटपट परेको थियो । एमसीसी कार्यान्वयनमा प्रवेश गर्ने दिन धनगढी गर्ने भनिएको मोर्चाको सभा नै स्थगित भएको थियो । पछि विप्लव नेतृत्वको दलले सडकमा र्याली पनि निकाल्यो । तथापि, मोर्चामा कायम छ ।
के भनिरहेका छन् नेताहरू
जसपाका वरिष्ठ नेता श्रेष्ठ मौलिक समाजवादको बाटो तय गर्न मोर्चा अघि बढेको सन्देश दिन खोजेको बताउँछन् । “हामी समाजवादको नेपाली बाटो तय गर्दै छौँ । यसमा अग्रगामी संघीयता, लोकतन्त्र, समावेशिता, सामाजिक न्याय, समृद्धि, सुशासनको पक्षधर सम्पूर्ण राजनीतिक शक्तिहरूलाई सहयोग गर्न आह्वान गर्दै सन्देश दिन खोजिरहेका हौँ,” उनले मूलखबरसँग भने ।
उनी सन्देशसभामार्फत् समाजवादको बाटो प्रस्ट पारिएको सुनाउँछन् । “वैचारिक राजनीतिकरूपमा समाजवादको बाटो मौलिक हुने छ । संघीय शासन भएको समाजवादको बाटो हुने छ भनेर प्रस्ट पारेका छौंँ,” उनी भछन्, “सामाजिक न्याय, समतामूलक समृद्धि न्यायपूर्ण र विभेदरहित हुने छ भन्ने कुरालाई हामीले भनेका छौँ ।”
प्रदेश र स्थानीय तहमा समेत सहकार्य अघि बढ्न आह्वान गरिरहेको उनले बताए । मोर्चाको संयोजन समिति जिल्ला तहमा पनि समन्वय कमिटी बन्ने उनको भनाइ छ । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे चार पार्टीहरूबीच समाजवादी क्रान्तिमा जाने ‘कुरा मिलेको’ हुँदा अघि बढ्न लागेको सन्देश दिन खोजिएको बताउँछन् ।
उनी देशमा सुशासन, भ्रष्टाचारी, थिचोमिचोको कसरी अन्त्य गर्ने भन्ने अभियानमा रहेको सुनाउँछन् । उनी मोर्चा र गठबन्धनमार्फत् ती कामहरू गरिरहेको पनि बताउँछन् ।
“गणतन्त्र ल्यायौँ । गणतन्त्रले सबै कुरा बनिहाल्दो रहेन छ । शोषण दमन, थिचोमिचो बदलियो । तर, गणतन्त्रमा पनि शोषण, दमन थिचोमिचो भई नै हाल्दो रहे छ । त्यस्तो थिचोमिचोलाई कसरी अन्त्य गर्ने ?,” पाण्डेले सुनाए, “देशमा सुशासन कसरी कायम गर्ने ? भ्रष्टाचार कसरी अन्त्य गर्ने ? विकास निर्माणमा बढीभन्दा बढी जनतालाई कसरी सहभागी गराउने ? आर्थिक समृद्धि कसरी ल्याउने भन्ने कुरामा मन मिलेका पार्टीका बीचको अभियान हो ।”
हेटौडा भाषण
आइतबार हेटौंडामा आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे।
“हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुनदिने छैनौँ”, प्रधानमन्त्री प्रचण्डले भने।
संघीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ । सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतफी आक्रमण सुरु भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
“वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि जनताका लागि जनपक्षीय व्यवस्था कायम गर्र्दै जनताको अवस्था सुधार गर्ने पक्षमा छ”, उनले भने।
सरकार जनताको गणतन्त्र बनाउन चाहने दलहरुको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । समाजवादको आधार तयार पार्दै जनताको गणतन्त्र बनाउने अभियानमा लागिरहेको कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरु जनाताको हितका लागि एकताबद्ध भएर एउटै धारमा समाहित हुने विन्दुमा आइपुगेको बताए। कम्युनिष्टहरु एक–अर्कालाई अपमान गरेर फेरि फुटेमा त्यसको मर्का जनतालाई पर्ने उनको भनाइ छ।
पूर्वप्रधामन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताका लागि काम गर्नुपर्नेमा जोड दिए।
“हामी सबै एक भएर राजतन्त्र ढाल्यौँं, हाम्रो एकता आज अवस्था परिवर्तनका लागि तथा समाजवादको पक्ष र पुँजीवादको विरुद्धमा हो”, उनले भने। अध्यक्ष नेपालले समानताको सिद्धान्त लागू गर्न र जनतालाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्ने बताए।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने स्पष्ट पारे। उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिए।
जनता समाजवादी पार्टीका नेता शिवलाल थापा मगर पहिचानबादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गरे। संविधानमा उल्लेख भए बमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र सोतर्फ वर्तमान सरकार लागेकोमा उनले धन्यवाद दिए।
उनले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाए।