हिमालय एयरलाइन्सको काठमाडौं-छिङ्दाओ सिधा उडान सुरु

मूलखबर संवाददाता
काठमाडौं, २४ भदौ

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्दाओमा सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ  र हिमालय एयरलाइन्सका अध्यक्ष झो एनयोङले स्वागत गरे ।

आइतबार विमानस्थलमा पर्यटन मन्त्री किराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङको उपस्थितिमा हिमालय एयरलाइन्सले पत्रकार सम्मेलन गर्दै काठमाडौं-छिङ्दाओ उडानबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई देशबीच पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँबाट छिङ्दाओमा सिधा उडान सञ्चालन गरिएको  जानकारी दिए । उनले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जानकारी पनि दिए ।

मन्त्री किरातीले चीनको छिङ्दाओमा हिमालय एयरलाइन्सले सिधा उडान सुरू गरेकोमा खुशी व्यक्त गरे । उनले उक्त विमानस्थल बीआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको पनि बताए । उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउन सके र ग्रामिण संस्कृतिको जरासम्म पुर्‍याउन सके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए ।

चीनका विभिन्न सहरबाट पोखरा सहरमा उडान गर्नका लागि चिनियाँ राजदूतसँग आग्रह पनि गरे । मन्त्री किरातीले काठमाडौं-पोखरा-चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालको पर्यटन क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे ।

राजदूत सोङले काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको आरम्भ हुनु भनेको नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । उनले चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

साताको चार उडान

पर्यटकका लागि लक्षित यस उडानमार्फत दुवै देशले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । यसअघि छिङदाओबाट काठमाडौँ आउने सिधा उडान थिएन ।

साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्स्ले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।

पहिलो उडानमा ११४ यात्रु सवार थिए । पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो । छिङदाओको जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्नेछ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ ।

सेप्टेम्बरमा साताको चार चार्टर्ड उडान हुनेछ । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर अक्टोबरदेखि नियमित उडान सुरु गर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ । चीनको छिङदाओ पूर्वी शानडोङ प्रान्तको महत्वपूर्ण सहर हो ।

एयरलाइन्सले चीनमा पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो । कम्पनीले पछिल्ला वर्षमा चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान गर्दै आएको छ । कम्पनीले दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बङ्गलादेशलगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको जनाएको छ ।