
समाजवादी मोर्चाको सन्देश सभाः आज हेटौंडामा शीर्ष नेताको सम्बोधन
समाजवादी मोर्चाले आज आइतबार बागमती प्रदेशको हेटौंडामा सन्देश सभा गर्दैछ ।
सन्देश सभालाई मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने छन् ।
आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको समेत घोषणा गरिने एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।
सातै प्रदेशमा सभा गर्ने निर्णय अनुसार मोर्चाले यसअघि मधेश प्रदेशको वीरगञ्जमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र गण्डकी प्रदेशको पोखरामा सन्देश सभा आयोजना गरिसकेको छ । कोशी प्रदेशको विराटनगरमा यही भदौ २५ गते सभा गर्ने कार्यक्रम छ ।
भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा आयोजना गर्ने भनिएको सभा स्थगित गरिएको थियो ।
