परमादेशबाट कोशीको मुख्यमन्त्री बने कार्की, ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार एमाले नेता हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएका हुन् ।
कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् । उनीहरुले पनि आजै शपथग्रहण गरेका छन् ।
गत पुसमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले पछि विश्वासको मत पाउन सकेका थिएनन् । त्यसपछि नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भए पनि उनको नियुक्ति सर्वोच्च अदालतले दुई पटक बदर गरेको छ ।
पछिल्लो पटक गत बिहीबार थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गर्दै कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
मुख्यमन्त्री कार्कीलाई राप्रपाले समर्थन गरेको छ ।