निजामती र शिक्षा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० र संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संसदमा पेश गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
देश संघीयतामा गए पनि स्थायी सरकार भनिने निजामती सेवा भने पुरानो निजामती सेवा ऐन अनुसार चल्दै आएको छ । साथै संघीय शिक्षा सम्बन्धी ऐन पनि नयाँ बनेको छैन ।
मन्त्रिपरिषद बैठकले निजामती सेवाका ४० जना कर्मचारीलाई निजामती सेवा दिवसको दिन पुरस्कृत गर्ने निर्णय समेत गरेको छ । तर सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनोट गरेन ।
मन्त्रिपरिषद बैठकले साथै स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली, २०८० स्वीकृत गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिइन् ।