काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन, राष्ट्रिय सभागृहमा श्रद्धाञ्जलि दिइने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले मुलखबरलाई जानकारी दिए ।

रिजाल डेंगी संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । अहिले भने उनको काठमाडौं-१६, बालाजुमा बसोबास रहेको थियो । रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।

स्वर्गीय रिजाल नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।