शशांक कोइरालाले भने– आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु
चितवन । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।
कोइराला समूहबाट डा. शशांक कोइराला सभापति बन्ने चर्चा चलिरहेको बेला शशांकले हालका सभापति शेरबहादुर देउवाको तर्फबाट आफू सभापतिको उम्मेदवार बन्ने बताएका हुन् ।
चितवनको भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरुले आगामी महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार बन्ने सम्भावना कति छ ? भनेर सोधेका थिए । त्यसको जवाफ दिँदै शशांकले भने, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’
यद्यपि आफू सभापतिको उम्मेदवार बन्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल नभएको र देउवाले केही नभनेको उनले बताए । देउवाले केही नभने पनि पार्टीका साथीहरु विचार शशांक उम्मेवार बन्ने नै हुने उनले जिकीर गरे ।
उनले यसबारे पार्टीका साथीहरुसँग सल्लाह गरी निर्णय लिने समेत बताए । उनले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।’
कांग्रेसभित्र संस्थापन इतर समूहको नेतृत्व डा. शेखर कोइरालाले गरेका छन् । महामन्त्री गगन थापाको साथ पाइसकेका शेखरले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि आफ्नो समूहमा तान्ने प्रयास गर्दै आएका छन् ।
कोइराला समूहकै भए पनि शेखर र शशांकबीच मिल्ती नरहेको उनीहरु निकट नेताहरु बताउँछन् ।