विद्युत प्राधिकरण र तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाबीच विद्युत खरिद बिक्री सम्झौता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणसँग आएमई समूहद्वारा प्रवर्द्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत हाइड्रोपावरको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्र ढकालले मंगलबार पीपीएमा हस्ताक्षर गरेका हुन् ।
अहिले ५८ मेगावाट क्षमताको पीपीए भए पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोले बाँकी क्षमताको पनि छिटै पीपीए गरिने आईएमई समूहले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा पर्ने यो आयोजना मध्यकालीगण्डकी जलविद्युत आयोजना र मिस्त्रिखोला २ आयोजनाको क्यास्केडको रुपमा विकास गरिएको हो ।
आयोजनाबाट उत्पादित बिजुली सुख्खायाममा ८.४० रूपियाँ प्रतियुनिट र वर्षायाममा ४.८० रूपियाँ प्रतियुनिट तोकिएको छ ।
आयोजनाबाट उत्पादित बिजुली विद्युत प्राधिकरणको निर्माण सम्पन्न गरिसकेको कालीगण्डकी करिडोर अन्तर्गत दाना सवस्टेशनमा जोडिने छ ।
आइएमई समूहबाट प्रवर्द्धित हाइड्रो सपोर्ट प्रालिबाट ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्य कालीगण्डकी जलविद्युत आयोजनाको पीपीए यसअघि नै सम्पन्न भइसकेको छ ।