
भ्रष्टाचारमा संलग्न जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ : अनन्त
काठमाडौँ ।.नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सरकारले भ्रष्टाचारमा संलग्न जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको विचार गोष्ठीलाई बोल्दै उनले निर्दोष कोही पनि नपर्ने र दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने भनाइ राखे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि आफूले त्यही भन्ने गरेको जानकारी उनले गराए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग गर्न नहुने र कुनै पनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्न पनि नहु्ने बताए ।
उनले लगानीकर्ता र मजदुरबीच हार्दिक सम्बन्ध स्थापित नभएसम्म दुवै पक्ष सुरक्षित नहुने बताए।
‘लगानीकर्ताबिना मजदुरले श्रम बेच्न पाउँदैन। मजदुरबिना लगानीकर्ताले उत्पादकत्व बढाउन सक्दैन। मजदुरले बढी सेवा सुविधा लिन खोज्छ, लगानीकर्ताले बढीभन्दा बढी नाफा आर्जन गर्न खोज्छ। यी दुवै सोच गलत होइनन्’, पुनले भने, ‘दुवै पक्षले बुझ्नुपर्ने कुरा के छ भने एकबिना अर्को चल्न र टिक्न सक्ने अवस्था हुँदैन ।’
देशभित्रकै साना लगानी संकलन, वैदेशिक सहायता र अन्तर्राष्ट्रिय लगानीमार्फम लगानी योग्य रकम जुटाउनुपर्ने उनले बताए। वैदेशिक लगानी भित्र्याउन सरकार, प्रमुख दल र निजी क्षेत्रले सहकार्य गरी लगानीमैत्री वातावरण बनाउनुपर्ने उनको धारणा छ ।
