भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने बाटो खुल्यो
काठमाडौं । नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुलेको छ ।
भारतको मन्त्रिपरिषद बैठकले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्ने बाटो खुलेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भारतीय समकक्षी मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा ऊर्जा क्षेत्रमा भएको यो महत्वपूर्ण उपलब्धिमध्ये एक थियो ।
भारतको मन्त्रिपरिषद बैठकले मोदीको उक्त घोषणालाई सोमबार औपचारिकता दिएपछि दुई देशका अधिकारीहरुबीच यस सम्बन्धी निर्णयमा छिट्टै हस्ताक्षर गर्ने तयारी छ । ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले भारतीय अधिकारीसँग सम्पर्क र समन्वय गरेर निर्णयमा हस्ताक्षरका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिए ।
भारतीय मन्त्रिपरिषद्को निर्णयपछि अब नेपालले जलविद्युत् पूर्वाधारहरू वृद्धि गर्नुपर्ने र बिजुली बेच्न सक्ने क्षमता बढाउनुपर्ने चुनौति छ ।
अहिले नेपालबाट ५२२ मेगावाट बिजुली प्रतिदिन बोलकबोल प्रणालीबाट मूल्य तय गरी भारतमा बिक्री गर्ने गरिएको छ ।
भारतले नेपालका थप चार आयोजनाको बिजुली किन्ने
यसैबीच नेपालले थप चार आयोजनाबाट १८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।
नेपालले यसअघि ४५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो । थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल ६३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ ।
नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । भारतले यो बिजुली हरियाणा राज्यका लागि किन्न लागेको हो ।
माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलुखोला (दूधकोशी) र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार महेन्द्रनगरबाट जाने बिजुली इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा बिक्री हुनेछ भने ढल्केबर मुजफ्फरपुरबाट जाने बिजुली प्रतियुनिट ८ रूपैयाँ ४० पैसा अर्थात् ५ दशमलव २५ भारतीय रूपैयाँमा बिक्री हुने राससले जनाएको छ ।
आइईएक्समा बिजुली बेच्नका लागि बोलकबोल प्रक्रियाबाट हरेक दिन फरक–फरक दरमा बिजुलीको मूल्य निर्धारण हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण र एनटीपीसी विद्युत् व्यापार निगमबीच केही समयअघि भएको मध्यमकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट ५ दशमलव २५ भारतीय रूपैयाँमा २०० मेगावाटसम्म बिजुली खरिद–बिक्री गर्ने सम्झौता गरेको छ ।
नेपालले सोलुखोला (दूधकोशी) आयोजनाको ८३ दशमलव ४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२ दशमललव ६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४० दशमलव ७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६ दशमलव १९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको ६ दशमलव ६७ मेगावाट बिजुली भारत पठाउने भने पनि सोलुखोला र सुपरमादीले मात्रै अनुमति पाएका छन् ।