जी-२० शिखर सम्मेलनः विश्वका २ शक्तिशाली नेता नआउनुको अर्थ के
भारतमा आउँदो सेप्टेम्बर ९ र १० मा हुने विश्वको प्रमुख अर्थतन्त्रको समूह जी–२० को शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित हुन सक्ने बताइएको छ । भारतीय र चिनियाँ स्रोतलाई उद्धृत गर्दै रोयटर्सले यस्तो उल्लेख गरेको हो ।
नयाँ दिल्लीमा हुने शिखर सम्मेलनमा चीनका तर्फबाट प्रधानमन्त्री ली छ्याङ र रुसबाट विदेशमन्त्री सर्जेइ लाभ्रोबले प्रतिनिधित्व गर्ने बताइएको छ । प्रत्येक वर्ष फरक सदस्य राष्ट्र जी–२० को अध्यक्ष हुने र उसैले सम्मेलन आयोजना गर्ने गरिएको छ ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडन र सीबीच भेटवार्ता हुन सक्ने ठानिएको थियो । यसअघि, गएको नोभेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनका बेला सी र बाइडेनबीच भेट भएको थियो ।
पुटिनले भने आफू आउन नपाउने जानकारी भारतीय पक्षलाई फोनै गरेर गराएका थिए । भारतमा आयोजना हुनु अगाडि इन्डोनेसियामा आयोजना भएको जी-२० शिखर सम्मेलनमा पनि पुटिन गएका थिएनन् ।
गत हप्ता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्सको १५औं शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी पनि गरेका सीको भारत भ्रमण नहुनुलाई अर्थपूर्ण मानिएको छ ।
रुस र चीनका राष्ट्र तथा सरकार प्रमुखहरुको अनुपस्थितिले भारतमा आयोजना हुने पहिलो जी-२० शिखर सम्मेलन खल्लो हुने टिप्पणी भारतमै सुरु भएको छ । पश्चिमा देशहरुको मुख्य अनुहारहरु आउने र रुस तथा चीन जस्ता पूर्वका शक्तिहरुको शीर्ष नेतृत्वको अनुपस्थितिले सेप्टेम्बर ९ र १० मा भारतमा हुने जी-२० को रौनकतामै कमी आउने भएको छ ।
पुटिन र सी अनुपस्थित हुने भए पनि जी-२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने सहभागी हुनेछन् । बाइडेनले आफू नयाँ दिल्लीमा आउने सूचना सार्वजनिक गरिसकेका छन् ।